शुक्रबार, १६ चैत २०८०

निस्कोटमा विद्युतीकरण

rss २०७६ भदौ ७ गते १३:५५

Advertisement

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो ।

साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिनुभयो । निस्कोटमा विद्युतीकरणका लागि मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा रु १२ लाख र आव २०७५÷६७ मा रु पाँच लाख विनियोजन गरिएको थियो ।

विद्युत् प्राधिकरणले ठेक्कामार्फत मुख्य लाइन तान्ने, पोल गाड्ने र ट्रान्सफर्मर जडान गरेको थियो । गाउँपालिकाको सहयोगमा शाखा लाइन विस्तार गरिएको हो । एशियाली विकास बैंकको सहयोगमा साविक १ र २ नम्बर वडामा विद्युतीकरण गर्न योजना सञ्चालन भएको छ । खोप्ती र सिरदीको बस्तीमा केही वर्षअघिनै विद्युतीकरण भएको थियो ।

साविकको ४, ८, ७ र ५ नम्बर वडाका करीब १५० घरधुरीमा यसपालि विद्युत् विस्तार गर्ने योजना छ । विद्युत् सुविधा भएपछि स्थानीयवासीको दैनिक जीवनयापनमा सहज भएको छ । यसअघि उज्यालोका लागि लघु जलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर थिए ।

उज्यालोका लागि बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरण चलाउन सहज भएको छ । फर्निचर, राइसमिल, कुखुरापालनलगायत व्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ ।

आव २०७५÷७६ मा म्याग्दीका ७११ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेको विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले धौलागिरि गाउँपालिकाको ताकम र मुनामा थप एक हजार घरधुरीमा विद्युत् विस्तारको तयारी भएको जनाएको छ ।

गत वर्ष धौलागिरि गाउँपालिकाको धारापानी, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मङ्गलाको सातबिसे, नेटामा गत आवमा विद्युत् विस्तार भएको केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो । म्याग्दीमा २४ हजार घरधुरीको बसोबास छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रसहित बेनी वितरण केन्द्रअन्तर्गत १६ हजार ३०० उपभोक्ता छन् ।

म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई वटा शीर्षकमा रु १२ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । ४५ मध्ये ११ वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । पिक आवरको समयमा चार मेगावाट विद्युत् खपत हुने गर्छ । गत आवमा रु सात करोड ३७ लाख ४१ हजार ७१३ विद्युत् महशुल सङ्कलन गरेको सहलेखा अधिकृत रामप्रसाद मुडभरीले बताउनुभयो । प्राधिकरणले रु आठ लाख २५ हजार २२७ महशुलको बक्यौता उठाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री