आइतबार, २२ असार २०८२

भारतबाट नेपाल आउनेलाई पाँच हजार डलर बराबरको विदेशी मुद्रा ल्याउन अनुमति

समयपोष्ट २०८२ असार २० गते १४:३७

 

Advertisement

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिहरूले भन्सारमा घोषणा नगरी ५ हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले यो व्यवस्था सहज व्यापार र आवागमनका लागि लागू गरिएको जानकारी दिए।

मन्त्री पौडेलका अनुसार, थप रकम ल्याउन चाहने व्यक्तिले भन्सारमा घोषणा गरेर ६ लाख भारतीय रुपैयाँसम्म ल्याउन सक्नेछन्। यद्यपि, भारतीय ५०० रुपैयाँको नोट नेपालमा स्वीकार नगर्ने नीति कायमै रहेको उनले स्पष्ट पारे। उनले भने, “भारतले ५०० को नोट फिर्ता नलिने नीति लिएकाले हामीले पनि यो नोट स्वीकार नगरेका हौँ।”

पर्यटकको सहजताका लागि नेपालमा क्युआर कोड र कार्डमार्फत निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको मन्त्री पौडेलले बताए। यसले पर्यटकहरूलाई सहज र डिजिटल भुक्तानीको सुविधा प्रदान गर्ने उनको भनाइ छ।

Advertisement

भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँठाउँमा चेकजाँच गर्नु नपर्ने व्यवस्था लागू गरिएको मन्त्री पौडेलले उल्लेख गरे। यो व्यवस्थाले व्यापार र यातायातमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँगको छलफलमा मन्त्री पौडेलले वित्तीय क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकारले कानुन निर्माणमा जोड दिएको बताए। उनले भने, “हामीले बैङ्किङ क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन कानुनी सुधारमा ध्यान दिएका छौँ।”

कालोधनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेको भन्दै मन्त्री पौडेलले यस्ता विषयमा सतर्कता अपनाउनुपर्ने बताए। उनले यस्तो नीतिले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निस्कन थप जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री