आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१÷८२ मा रु १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।
वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिनुभयो । विगतका केही वर्षमा आन्तरिक राजस्व विभागको राजस्व सङ्कलन लक्ष शतप्रतिशत पूरा हुन सकेको थिएन । आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आव २०८१÷८२ मा राजस्व रु दुई अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरी २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो ।
विगतमा मासिक राजस्व सङ्कलनको लक्षसमेत पूरा गर्न नसकेको कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असार महिनामा सतप्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिनुभयो । कार्यालयले गत आवमा आयकरतर्फ रु एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तः शुल्कवापत रु नौ अर्ब एक करोड ५६ लाख बढी राजस्व सङ्कलन गरेको छ ।
सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तःशुल्कतर्फ आव २०८०÷८१ को तुलनामा आव २०८१÷८२ मा रु एक अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको थियो । यस्तै आयकरतर्फ रु ३७ करोड (२८ दशमलव ३ प्रतिशत) र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोड (१६ दशमलव ३ प्रतिशत)ले बढी राजस्व उठेको प्रमुख कर अधिकृत पोखरेलले बताउनुभयो ।
देशको अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढ्दा करको आकार स्वभाविक रुपमले बढेको उहाँको भनाइ छ । नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, करको दायरामा नआएका र छुटेकालाई दायरामा ल्याउने र बक्यौता असुलिमा तीव्रता दिएर कर बक्यौता असुलीलगायतका काममा ध्यान दिएर लाग्दा कर छल्नेलाई कारबाही गर्ने जस्ता कारणले राजस्व सङ्कलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताउनुभयो ।
यसका साथै सर्वसाधारणमा कर शिक्षा प्रवाह र अनुसन्धानको प्रभावकारीता, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी कर छल्नेमाथि अनुसन्धान र कारबाहीको दायरामा ल्याउने कार्यले राजस्व सङ्कलनको लक्ष्य नजिक पुग्न सकिएको उहाँ बताउनुहुन्छ ।
“अहिले कर बुझाउनुपर्छ । करको दायरामा जानुपर्छ भन्ने भावना आमनागरिकमा देखिएको र आम करदातामा करको सचेतना बढ्दै गएकाले राजस्व सङ्कलनमा सुधार भएको हो”, उहाँले भन्नुभयो ।
सरकारले राजस्व दाखिलालगायतका भुक्तानीका काममा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको प्रमुख कर अधिकृत पोखरेल बताउनुहुन्छ । उहाँले डिजिटल प्रणाली लागू हुँदा करदाता सेवाग्राही कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देही जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १ देखि ४ र वडा नं. ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं.५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका पर्छन् ।
प्रतिक्रिया