भारतको सहयोगमा नेपालमा पाँच परियोजना : शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा
नेपालमा भारत सरकारको अनुदान सहयोगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन समझदारी भएको छ। सोमबार काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायहरूबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यी परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड नेपाली रुपियाँ रहेको छ।
यी परियोजनाहरूमा धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्रावास र पुस्तकालय, तथा मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवनको निर्माण समावेश छन्। यी परियोजनाहरू नगरपालिका, गाउँपालिका र नेपाल सरकारका स्थानीय निकायहरू मार्फत कार्यान्वयन हुनेछन्।
यी संरचनाहरूको निर्माणले नेपालका जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ। सन् २००३ यता भारत सरकारले नेपालमा यस्ता ५७९ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ, जसमध्ये ४९६ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगका क्षेत्रमा सातै प्रदेशमा सम्पन्न भइसकेका छन्। बाँकी परियोजनाहरू विभिन्न चरणमा छन्।
भारत र नेपालबीच नजिकको छिमेकी सम्बन्ध र बहुक्षेत्रीय सहकार्य रहेको छ। यी परियोजनाहरूले नेपाली जनताको सशक्तिकरण र नेपाल सरकारको प्राथमिकता क्षेत्रमा पूर्वाधार विस्तारका प्रयासमा भारत सरकारको सहयोगी भूमिकालाई प्रतिबिम्बित गर्दछ।
प्रतिक्रिया