देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभागका साथै गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा अहिले देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बदली रही बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोशीको तराईमा साधारणतया बदली रहनेछ भने मधेस, बागमती र गण्डकीको तराईमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहने भए पनि त्यहाँका केही स्थानहरूमा तातो लहर चल्ने सम्भावना छ।

दिउँसो हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै कोशीको तराई र मधेस, बागमती, गण्डकीका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा भने तातो दिन हुने सम्भावना रहेकाले गर्मीबाट बच्न सतर्कता अपनाउनुपर्ने देखिन्छ।

बिहीबार राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र कोशीको तराईमा साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र बागमतीका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री