क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूह विजेता, पराजित क्यानडा पनि पहिलो पटक नकआउटमा

सह-आयोजक क्यानडालाई २-१ ले पराजित गर्दै स्विट्जरल्यान्ड जारी फिफा विश्वकप २०२६ को समूह ‘बी’ को विजेता बनेको छ।

Advertisement

भ्यानकुभरस्थित बिसी प्लेसमा भएको खेलमा जित निकाल्दै स्विट्जरल्यान्डले शीर्ष स्थान सुरक्षित गर्दा हारका बाबजुद क्यानडा पनि उपविजेता बन्दै इतिहासमा पहिलो पटक नकआउट चरणमा पुग्न सफल भयो।

यो जितसँगै स्विट्जरल्यान्ड अर्जेन्टिना र फ्रान्सपछि लगातार चार विश्वकपमा नकआउट चरण पुग्ने तेस्रो राष्ट्र बनेको छ। अब स्विट्जरल्यान्डले जुलाई ३ मा यही रंगशालामा समूह ई देखि जे सम्मका उत्कृष्ट तेस्रो हुने टोलीमध्ये एकसँग खेल्नेछ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको १२ मिनेटभित्र स्विट्जरल्यान्डले २-० को अग्रता लियो। खेलको ४६औँ मिनेटमा जोहान मान्जाम्बीको क्रसमा रुबिन भार्गासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

त्यसपछि ५७औँ मिनेटमा ब्रिल एम्बोलोको पासलाई सदुपयोग गर्दै मान्जाम्बी आफैँले गोल गरे। खेलमा एक गोल र एक असिस्ट गरेका मान्जाम्बी ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए।

क्यानडाका लागि ७६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेको ७६ सेकेन्डमै प्रोमिस डेभिडले गोल फर्काए पनि त्यो पुनरागमनका लागि पर्याप्त भएन। समूह विजेता बन्न नसक्दा क्यानडाले अब घरेलु मैदानको फाइदा गुमाएको छ र बाँकी खेल क्यानडा बाहिर खेल्नुपर्नेछ।

क्यानडाको अर्को खेल जुन २८ मा क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा समूह ‘ए’ को उपविजेता टोलीसँग हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री