इतिहास रच्ने दाउमा बोस्निया, कतार समूह चरणबाटै बाहिरियो

एसियाली च्याम्पियन कतारलाई ३-१ ले पराजित गर्दै बोस्निया हर्जगोभिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक पुग्ने आशा जीवित राखेको छ। समूह ‘बी’ अन्तर्गत सियाटल स्टेडियममा बुधबार भएको खेलमा बोस्नियाले महत्वपूर्ण जित हात पारेको हो।

यो जितपछि बोस्निया र क्यानडाको समान ४ अंक भए पनि आपसी नतिजाका आधारमा बोस्निया तेस्रो स्थानमा सीमित रह्यो। यद्यपि प्रतियोगिताका उत्कृष्ट ८ तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा उसले अन्तिम ३२ मा स्थान बनाउन सक्ने सम्भावना भने कायमै राखेको छ।

पहिलो हाफमै बोस्नियाको दबाब

Advertisement

बोस्नियाले खेलको २९औँ मिनेटमा १८ वर्षीय युवा खेलाडी केरिम अलाजबेगोभिचको गोलबाट अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि कतारी डिफेन्डर सुल्तान अल ब्रेकले आत्मघाती गोल गरेपछि बोस्नियाले अग्रता दोब्बर बनायो।

देशका लागि १ सय ५०औँ खेल खेलिरहेका ४० वर्षीय कप्तान एडिन जेकोको भली प्रहार बचाउने क्रममा उक्त आत्मघाती गोल हुन पुगेको थियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा कतारका कप्तान हसन अल हायडोसले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।

कतारको फितलो आक्रमण, बोस्नियाको जित सुनिश्चित

दोस्रो हाफमा कतारले बराबरी गोलका लागि केही राम्रो अवसर सिर्जना गरे पनि आक्रमणलाई प्रभावकारी अन्त्य दिन सकेन। खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडी एर्मिन माह्मिकले गोल गर्दै बोस्नियाको ३-१ को जित सुनिश्चित गरे।

यो बोस्नियाको विश्वकप इतिहासमा केवल दोस्रो जित हो भने खेलमा निरन्तर दबाब सिर्जना गरेका स्ट्राइकर एर्मेडिन डेमिरोभिच ‘प्लेयर अफ द म्याच’ घोषित भए। यता कतार भने एक अंकसहित समूहको पुछारमा रहँदै लगातार दोस्रो विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री