
मोरक्को फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा हाइटीलाई ४-२ ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ।
एटलान्टामा अहिले बिहान भएको खेलमा हाइटीले दुईपटक अग्रता लिएर दबाबमा पारे पनि अन्ततः मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो। यो जितसँगै मोरक्को समूह ‘सी’ मा ७ अंकसहित दोस्रो स्थानमा रह्यो।
हाइटीको सुरुवाती दबाब र कीर्तिमान
दबाबमुक्त भएर मैदान उत्रिएको हाइटीले खेलको १०औँ मिनेटमै अग्रता लियो। जाँ–केभिन डुभेर्नले पेनाल्टी क्षेत्रभित्र फर्काएको बलमा लेनी जोसेफले आकर्षक ब्याकहिल प्रहार गरे।

उक्त बल मोरक्कोका गोलरक्षक यासिन बोनोमा लाग्दै आत्मघाती गोलमा परिणत भयो। यो हाइटीको ५२ वर्षपछि विश्वकपमा पहिलो गोल थियो।
रोमाञ्चक पहिलो हाफ
गोल खाएपछि आक्रामक बनेको मोरक्कोका लागि ३९औँ मिनेटमा अचराफ हाकिमीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। तर, ४३औँ मिनेटमा हाइटीका विल्सन इसिडोरले टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि हाइटीले फेरि २-१ को अग्रता लियो।
पहिलो हाफको इन्जुरी समयमा हाकिमीको पासमा अब्देस्सामाद साइबारीले सहज गोल गर्दै मोरक्कोलाई पुनः २-२ को बराबरीमा पुर्याए।

मोरक्कोको जित र अर्को चरणको यात्रा
दोस्रो हाफमा मोरक्कोले खेलमाथि पूर्ण नियन्त्रण बनायो। ७८औँ मिनेटमा कर्नरबाट आएको बलमा सुफियान रहिमीले गोल गर्दै टोलीलाई पहिलोपटक अग्रता दिलाए।
खेलको अन्तिम मिनेटतिर युवा खेलाडी गेस्सिम यासिनले चौथो गोल थप्दै मोरक्कोको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका मोरक्कोका अचराफ हाकिमी प्लेयर अफ द म्याच चुनिए।
विश्वकपमा ५० वर्षभन्दा बढी समयपछि सहभागिता जनाएको हाइटी प्रतियोगिताबाट बाहिरिए पनि प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो। हाइटीले फिफा विश्वकप इतिहासमा पहिलोपटक एकै खेलमा २ गोल गर्यो।
अब मोरक्कोले जुन २९ मा मोन्टेरेमा समूह ‘एफ’ को विजेतासँग अन्तिम १६ को लागि प्रतिस्पर्धा गर्नेछ।









प्रतिक्रिया