
मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न कूटनीतिक प्रयास भइरहेका बेला इरानस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई त्यहाँको यात्रा नगर्न चेतावनी दिएको छ । दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा सुझाव जारी गर्दै अर्को सूचना नभएसम्मका लागि यात्रा स्थगित गर्न सल्लाह दिएको हो ।
तेहरानको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको दूतावासले पछिल्लो समय स्थितिमा केही सुधार देखिए पनि जोखिम कायमै रहेको जनाएको छ । यसअघि नै इरानमा रहेका वा अत्यावश्यक कामले त्यहाँ पुगेका भारतीयहरूलाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।
दूतावासले इरानमा रहेका सम्पूर्ण भारतीय नागरिकहरूलाई स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न र विश्वसनीय स्रोतबाट मात्र सूचना लिन आग्रह गरेको छ । यसका साथै त्यहाँ रहेका र भर्खरै आइपुगेका सबै नागरिकलाई जति सक्दो छिटो दूतावासमा आफ्नो विवरण दर्ता गराउन कडा निर्देशन दिइएको छ ।
नागरिकहरूको सहजताका लागि दूतावासले आफ्नो आधिकारिक वेबसाइटमार्फत नियमित सूचनाहरू जारी गरिरहेको छ । आपतकालीन सहायताका लागि मोबाइल नम्बर, हेल्पलाइन र इमेल ठेगानासहितको विवरण समेत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
यो चेतावनी यस्तो समयमा आएको छ, जब अमेरिका र इरानबीच लामो युद्ध अन्त्य गर्ने उद्देश्यले प्रारम्भिक चरणको प्राविधिक वार्ता सकिएको छ । दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौताका लागि मार्गदर्शन तय गर्न र उच्च–स्तरीय समिति गठन गर्न सहमत भएका छन् ।
यद्यपि, कूटनीतिक प्रयासहरू जारी रहे पनि केही गम्भीर विषयमा दुई देशबीच अझै सहमति जुट्न सकेको छैन । विशेषगरी स्ट्रेट अफ होर्मुजको दीर्घकालीन समुद्री प्रशासन र इरानी वित्तीय भण्डार फुकुवा गर्ने विषयलाई लिएर दुवै पक्षबीच आधारभूत असहमतिहरू कायमै छन् ।









प्रतिक्रिया