
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिलाई निर्देशन दिएका छन्।
महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै भित्रभित्रै नाम पठाउने र फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि नगर्न सचेत गराए।
रास्वपालाई यहाँसम्म ल्याइपुर्याउन नेपाली नागरिकले अथाह विश्वास गरेको भन्दै उनले अब उपलब्धिलाई परिणाममा बदल्ने बेला आएको बताए। संसारको राजनीतिक इतिहासमै विरलै हुने गरी पहिलो महाधिवेशनअगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको दाबी गर्दै उनले यसको महिमागान मात्र गाएर हिँड्न नहुनेमा जोड दिए।
प्रतिनिधि शुल्क ऐच्छिक, पुराना र नयाँबिच विभेद नहुने
लामिछानेले सभापतिको विशेषाधिकार प्रयोग गर्दै महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार रुपैयाँ शुल्कलाई ऐच्छिक बनाएको घोषणा गरे। धेरै दिन बस्दा प्रतिनिधिको खर्च बढेको र आर्थिक भारकै कारण कोही पनि मतदानबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनले यस्तो निर्णय लिएका हुन्।
शुल्क तिरिसकेका प्रतिनिधिले चाहेमा रकम फिर्ता लिन सक्ने र शुल्क तिर्न नसक्नेहरूका लागि पार्टीले नै वैकल्पिक स्रोतको व्यवस्था गर्ने उनले प्रस्ट पारे। सांसद वा मन्त्री भएकालाई उम्मेदवार बन्न नदिने वा पुराना र नयाँबिच विभेद गर्ने कुनै पनि औपचारिक निर्णय पार्टीले नगरेको उनले स्पष्ट पारे।
विवेक प्रयोग गर्न आग्रह र आन्तरिक एकताको सन्देश
पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न उनले प्रतिनिधिलाई आग्रह गरे। गलत पात्र र प्रवृत्तिको एउटा सानो बिउ मात्र रोपिए पनि त्यसले कालान्तरमा दुर्घटना निम्त्याउने भन्दै उनले त्यस्तो परम्परा रास्वपामा भित्रिन नदिन जोड दिए।
निर्वाचनको प्रक्रियामा आफू सबैबाट अलग रहेको बताउँदै उनले चुनाव जसले जिते पनि घण्टीवाहकले नै जित्ने र सबै आफ्नै परिवारको सदस्य भएको बताए। पार्टीभित्रका कुनै पनि असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्ने भन्दै उनले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए।









प्रतिक्रिया