रास्वपा महाधिवेशनः बन्दसत्र दिउँसो २ः०० बजेदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले १ दिन ढिलाइ भएको रास्वपाले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र परिचयपत्र छपाइमा बढी समय लागेकाले बन्दसत्र पछि सरेको हो। रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार प्रतिनिधि कार्ड वितरण सकिएलगत्तै बन्दसत्रको औपचारिक सुरुवात गरिनेछ।

Advertisement

बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। उक्त प्रतिवेदनमाथिको छलफल सकिएपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्नेछिन्।

पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधान संशोधन प्रस्ताव र महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्ने कार्यतालिका बनाइएको छ।

पदाधिकारीहरूबाट प्रस्तुत भएका सम्पूर्ण प्रस्तावहरू पास भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। सभापति लामिछानेको प्रतिवेदनमाथि बन्दसत्रमा विस्तृत छलफल हुने रास्वपाले जनाएको छ।

सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्नेछन्। त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी दिँदै कार्यतालिका प्रकाशन गर्नेछ।

आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री