हेटौँडा कपडा उद्योग व्युँताउने सरकारको तयारी, मेसिनरी मर्मत गरेरै चलाउन सकिने

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले यसै वर्षभित्र पुनः सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारेको छ । उद्योग ब्युँताउने सरकारी योजनासँगै मन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्मको टोलीले उद्योगको स्थलगत अनुगमन र निरीक्षणमा सक्रियता बढाएका छन् ।

Advertisement

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगका मेसिनरी उपकरणहरू सामान्य मर्मतपछि तत्कालै प्रयोग गर्न सकिने अवस्थामा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो ।

विगतमा हेटौँडा कपडा उद्योग बन्द भएसँगै यससँगै सम्बन्धित बुटवलको धागो कारखाना र बाँकेको नेपालगन्जमा रहेको कपास उत्पादन कारखाना पनि बन्द भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा यसै वर्ष यो उद्योग सञ्चालनमा आउने बताएकी छन् ।

मन्त्री यादवले रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिला हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने र यसका लागि आवश्यक बुटवल धागो र कपासखेती पनि यसै वर्ष सुरु गरिने जानकारी दिएकी छन् । उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै विशेष अग्रसरता लिएको छ ।

उद्योग पुनरुत्थानको चर्चासँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उद्योगको वस्तुस्थिति बुझिसकेका छन् । विगतमा लागुऔषध दुर्व्यसनीहरूको अखडा बनेको यो उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएकाले उद्योगका भौतिक संरचना अहिले पूर्ण सुरक्षित रहेका छन् ।

लामो समयदेखि झाडीले घेरिएको उद्योग परिसरलाई सरकारी चासो बढेसँगै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरेर चिटिक्क पारेका छन् । यसअघि पटकपटक भएका ब्युँताउने प्रयासहरू असफल भए पनि यसपटक बजेट वक्तव्य र संसदीय रोस्टमबाटै घोषणा भएकाले उद्योग सञ्चालन हुनेमा स्थानीयले आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री