विवाद र दबाबकाबिच विश्वकपमा चम्किएका ‘इजिप्सियन किङ’ मोहमद सलाह

लामो प्रतीक्षापछि मोहमद सलाह र इजिप्टले विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेका छन् । ‘इजिप्सियन किङ’ सलाहको उत्कृष्ट प्रदर्शनको मद्दतले न्युजिल्यान्डलाई ३-१ ले पराजित गर्दै इजिप्टले आफ्नो नवौँ प्रयासमा पहिलो विश्वकप जित निकालेको हो । यो जितसँगै इजिप्ट अन्तिम ३२ मा पुग्ने बलियो सम्भावना बनेको छ ।

Advertisement

खेलमा सुरुवाती अग्रता न्युजिल्यान्डले लिए पनि इजिप्टले उत्कृष्ट पुनरागमन गर्‍यो । सलाहले ६७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने पछि उनकै कर्नर प्रहारमा ट्रेजेगुएले हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे ।

प्रतियोगिताको पहिलो खेलमा बेल्जियमसँग बराबरी खेल्दा र न्युजिल्यान्डविरुद्धको पहिलो हाफमा सलाह निकै शान्त देखिएका थिए । तर दोस्रो हाफमा ३४ वर्षीय यी सुपरस्टारले आफ्नो लय समात्दै लियोनेल मेस्सी, किलियन एम्बाप्पे, अर्लिङ हालान्ड र ह्यारी केन जस्तै प्रतियोगितामा आफ्नो प्रभाव छोड्न सफल भए ।

Advertisement

सन् २०१८ को बिर्सनलायक विश्वकप र त्यसपछिको संस्करणमा छनोट हुन नसकेको पीडालाई बिर्साउँदै इजिप्टका यी महान् खेलाडीले अन्ततः विश्वमञ्चमा आफ्नो जादु देखाए । अब इरानविरुद्धको आगामी खेलमा मात्र १ अंक जोडे पनि इजिप्ट अर्को चरणमा प्रवेश गर्नेछ ।

लिभरपुलका तत्कालीन प्रशिक्षक आर्न स्लटसँगको विवाद र क्लब छाड्ने घोषणापछि मोहमद सलाहको भविष्य अझै अनिश्चित छ । विश्वका विभिन्न क्लबहरूसँग उनको नाम जोडिए पनि उनी विगतका असफलतालाई बिर्साउँदै देशका लागि विश्वकपमा केन्द्रित हुन चाहन्थे ।

सन् २०१८ को विश्वकपमा चोटका कारण उनले पहिलो खेल बेन्चमै बिताउनु परेको थियो भने बाँकी खेलमा पनि टोलीले निराशाजनक हार ब्यहोरेको थियो । त्यसपछि इजिप्टको फुटबल संघसँग उनको विवाद चर्कियो र उनले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिनेसम्मको चर्चा चलेको थियो ।

सन् २०२२ को कतार विश्वकपमा इजिप्ट छनोट हुन सकेन भने यस पटक बेल्जियमविरुद्धको खेलमा प्रशिक्षक होसाम हसनले उनलाई मैदानबाट निकालेपछि दुईबीच विवाद भएको हल्ला चलेको थियो । तर आइतबारको खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सलाहले ती सबै निराशालाई खुसीमा बदले ।

इजिप्टमा सलाहको लोकप्रियता र उनीमाथिको दबाब सधैँ उच्च रहने गर्छ । न्युजिल्यान्डविरुद्धको गोल उनको ११८ औँ खेलमा ६८ औँ अन्तर्राष्ट्रिय गोल हो, जुन प्रशिक्षक हसनको कीर्तिमानभन्दा मात्र १ गोल कम हो ।

यो ऐतिहासिक जितसँगै इजिप्टको ९२ वर्ष लामो विश्वकप जितको प्रतीक्षा सकिएको छ । खेलमा सलाहले आफैँ ५ पटक पोस्टमा प्रहार गरे भने साथीहरूका लागि ५ वटा अवसर सिर्जना गरे ।

विगतमा लिभरपुललाई प्रिमियर लिग जिताए पनि सलाहले देशका लागि अहिलेसम्म कुनै ठुलो ट्रफी जित्न सकेका छैनन् । इजिप्टको अघिल्लो पुस्ताले लगातार तीन पटक अफ्रिका कप अफ नेसन्स जिते पनि सलाहको नेतृत्वमा टोली दुई पटक फाइनलमा पराजित भएको थियो । यो विश्वकपको जितले इजिप्टको इतिहासको एउटा ठुलो खडेरी भने टारेको छ ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री