‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आइतबार देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिखमा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस विश्वभर मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहिलो समर्थनमा १७७ देशले यसलाई अनुमोदन गरेका थिए।

नेपालमा योगको इतिहास र शैक्षिक प्रयास

Advertisement

नेपालमा वैदिककालमा ऋषिमुनिहरूले हिमालयको काखमा योग र ध्यानको प्रतिपादन गरेका थिए। विसं २०३६ देखि नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा सूर्य उत्तरायण लाग्ने दिन पारेर योग दिवस मनाउन सुरु गरिएको थियो।

अहिले नेपालका विश्वविद्यालयहरूमा पनि योगको पढाइ हुन थालेको छ। नेपाल संस्कृत विश्वविद्यालयले ६ महिनाको योग तथा प्राकृतिक चिकित्सा र त्रिभुवन विश्वविद्यालयले संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन अध्यापन गराइरहेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसको महत्त्व

जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेपछि नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरियो। विसं २०७२ साउन २८ गते सरकारले माघ १ गते मकर सङ्क्रान्तिको दिनलाई राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको हो।

डा. हरिप्रसाद पोखरेल रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी माध्यम भएको बताए। आधुनिक युगमा मानिसहरू मानसिक शान्ति र आरोग्यताका लागि पुनः योगतर्फ आकर्षित हुन थालेका छन्।

मूल समारोहको आयोजना

Advertisement

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ः०० बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिअन्तर्गत गर्न लागिएको कार्यक्रममा यस क्षेत्रका अनुयायीहरूको बाक्लो उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइने छ ।

मुख्यसचिवको विशेष उपस्थितिमा हुने आजको कार्यक्रममा जीवनका लागि योग जागरण फैलाउनुपर्नेमा जोड दिइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री