
विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान हुने अर्को बहुप्रतीक्षित खेलमा मेक्सिको र दक्षिण कोरिया आमनेसामने हुँदैछन्।
मेक्सिकोको ग्वाडालाजारा स्टेडियममा हुने यो रोमाञ्चक भिडन्त नेपाली समय अनुसार शुक्रबार बिहान ६ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ। आफ्नो पहिलो खेलमा उत्कृष्ट जित दर्ता गरेका दुवै टोलीका लागि यो खेल अघिल्लो चरणको यात्रा सहज बनाउने कडी बन्ने देखिन्छ।
आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २ शून्यले पराजित गरेको घरेलु टोली मेक्सिको निकै उच्च मनोबलका साथ मैदान उत्रनेछ। तर उक्त खेलमा रातो कार्ड पाएका मुख्य डिफेन्डर सेसार मोन्टेस प्रतिबन्धका कारण यो खेलमा उपलब्ध हुने छैनन्।
अर्कोतर्फ दक्षिण कोरिया पनि पहिलो खेलमा चेकियाविरुद्ध १ गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को कमब्याक जित निकाल्न सफल भएको थियो। दक्षिण कोरियाका लागि ह्वाङ इन–बियोम र ओह ह्योन–ग्युले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका थिए।
यस खेलमा जित निकाल्ने टोलीले समूह ‘ए’ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै नकआउट चरणको सम्भावनालाई बलियो बनाउनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने दाउमा छन्।









प्रतिक्रिया