विदेशी विद्यार्थीका लागि मेडिकल शिक्षाको कोटा बढाउने सरकारको तयारी, भिसा प्रक्रियामा पनि सहजीकरण गरिने

नेपालमा विदेशी विद्यार्थीका लागि मेडिकल शिक्षाको ढोका थप फराकिलो पारिने भएको छ ।

Advertisement

सरकारले नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विदेशी नागरिकका लागि कोटा बढाउने तयारी थालेको हो ।

मंगलबार संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले यस्तो जानकारी दिएका हुन् । विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण मेडिकल क्षेत्रमा देखिएकाले सरकारले कोटा थप गर्ने नीतिगत निर्णय लिन लागेको उनले स्पष्ट पारे ।

नेपालका विभिन्न विश्वविद्यालयमा हाल १ हजार ४ सयको संख्यामा विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये अधिकांशको रोजाइ चिकित्सा शास्त्र नै रहेकाले सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राखेको हो ।

विदेशी विद्यार्थीलाई आकर्षित गर्न सरकारले कानुनी र प्रक्रियागत झन्झट समेत हटाउने तयारी गरेको छ । नेपाल आउन चाहने शिक्षार्थीका लागि स्टुडेन्ट भिसा सहज बनाउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ ।

कोटा वृद्धिको निर्णयसँगै भिसा प्रक्रिया सहज भएमा नेपाल मेडिकल शिक्षाको बलियो हब बन्ने विश्वास गरिएको छ । यसले नेपालको शैक्षिक साख बढाउनुका साथै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री