
विश्वकप फुटबलको सहआयोजक राष्ट्रहरू अमेरिका र क्यानडामा फुटबललाई ‘सकर’ भनिने गरिन्छ । विश्वभरका करोडौँ प्रशंसकका लागि फुटबल केवल खेल मात्र नभएर जीवनपद्धति नै बनेको अवस्थामा यो नामकरणलाई लिएर बहस सुरु भएको छ ।
सन् १८६३ मा इङ्गल्याण्डमा फुटबल एसोसिएसन स्थापना गर्नेहरू अक्सफोर्ड विश्वविद्यालयका सम्भ्रान्त स्नातकहरू थिए । उनीहरूले यस खेललाई ‘एसोसिएसन फुटबल’ नाम दिएका थिए ताकि यसलाई तत्कालीन समयको अर्को लोकप्रिय खेल रग्बी फुटबलबाट अलग पहिचान दिन सकियोस् ।
सन् १८८० को दशकमा अक्सफोर्डका धनाढ्य विद्यार्थीहरूमाझ शब्दहरूलाई छोटो बनाएर अन्त्यमा ‘-एर’ थप्ने एउटा नयाँ चलन र भाषिक संस्कृति चल्यो । यही क्रममा ‘एसोसिएसन’ शब्दको बीच भागबाट ‘सोक’ लिएर त्यसमा ‘-एर’ थप्दै ‘सकर’ शब्दको उत्पत्ति भएको इतिहासकारहरू बताउँछन् ।
खेल इतिहासकार एन्डी मिचेलका अनुसार सन् १८८५ तिरै इङ्गल्याण्डका विद्यालयका पत्रिकाहरूमा ‘सकर’ शब्द प्रयोग भइसकेको लिखित प्रमाणहरू भेटिन्छन् । बेलायतबाट खेलसँगै यो शब्द पनि विभिन्न महादेशहरूमा फैलियो र अहिले अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र क्यानडामा यसको प्रयोग व्यापक छ ।
अमेरिकामा आफ्नै मौलिक ‘अमेरिकी फुटबल’ प्रख्यात भएकाले त्यहाँ पनि एसोसिएसन फुटबललाई सकर नै भन्न थालियो । बेलायती सञ्चारमाध्यमहरूले समेत सन् १९८० को दशकसम्म यो शब्द सहजै प्रयोग गर्ने गरेकोमा पछिल्लो समय भने ‘फुटबल’ शब्द नै बढी हाबी भएको देखिन्छ ।बीबीसी










प्रतिक्रिया