
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को बहुप्रतिक्षित खेलमा इंग्ल्याण्ड र क्रोएसिया आमने-सामने हुँदैछन्। डलास स्टेडियममा नेपाली समयअनुसार बिहीबार बिहान सवा १ बजे सुरु हुने यस खेलमा इंग्ल्याण्ड सन् २०१८ को विश्वकप सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रनेछ।
त्यसबेला क्रोएसियाले इंग्ल्याण्डलाई २-१ ले हराएर फाइनल पुग्ने सपना चकनाचुर पारिदिएको थियो। यी दुई टोलीबीच अहिलेसम्म ११ वटा अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा इंग्ल्याण्डले ६ र क्रोएसियाले ३ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्।
मोड्रिच भर्सेज बेलिङ्घम: स्टार खेलाडीमाथि नजर
इंग्लिस टोली आफ्ना स्टार स्ट्राइकर ह्यारी केन, मिडफिल्डर जुड बेलिङ्घम र युवा विङ्गर बुकायो साकाको लयमा भर पर्नेछ। अर्कोतर्फ क्रोएसियाको सम्पूर्ण जिम्मेवारी दिग्गज कप्तान लुका मोड्रिच र डिफेन्डर जोस्को ग्वार्डिओलको काँधमा हुनेछ।
दुवै टोलीको सम्भावित सुरुआती ११:
- इंग्ल्याण्ड: पिकफोर्ड, वाकर, स्टोन, गुएही, ट्रिपियर, राइस, बेलिङ्घम, साका, फोडेन, गोर्डन, केन।
- क्रोएसिया: लिभाकोविच, स्ट्यानिसिच, सुतालो, ग्वार्डिओल, सोसा, मोड्रिच, कोभासिच, पासालिक, माजेर, क्रेमारिच, पेरिसिच।

घाना र पानामाको ऐतिहासिक भिडन्त
भोलि नै हुने दोस्रो खेलमा घाना र पानामाबीच टोरन्टो स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बिहीबार बिहान ४:१५ बजे सुरु हुने यो खेल फुटबल इतिहासमै यी दुई टोलीबीचको पहिलो भेट हो।
यो समूहमा इंग्ल्याण्ड र क्रोएसियाजस्ता बलिया टोली भएकाले अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीलाई यो जित निकै महत्वपूर्ण छ। घानाका लागि मोहम्मद कुदुस र इनाकी विलियम्स मुख्य खेलाडी हुनेछन् भने पानामा अल्बर्टो क्यारास्क्विला र जोसे फजार्डोको भरमा मैदान उत्रनेछ।
दुवै टोलीको सम्भावित सुरुआती ११:
- घाना: अति-जिगी, सेदु, जिवाकु, सालिसु, मेन्सा, समेड, पार्टी, नुअमा, कुदुस, आयू, विलियम्स।
- पानामा: मोस्केरा, मुरिलो, कोर्डोबा, कमिंग्स, मिलर, डेविस, गोडोय, क्यारास्क्विला, बारसेनास, डियाज, फजार्डो।

विश्वकपमा उज्बेकिस्तानको डेब्यु: कोलम्बियासँग पहिलो खेल
फिफा विश्वकप इतिहासमा पहिलो पटक छनोट भएको उज्बेकिस्तानले भोलि आफ्नो पहिलो खेल कोलम्बियाविरुद्ध खेल्दैछ। मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार बिहीबार बिहान ७:१५ बजे यो ऐतिहासिक खेल सुरु हुनेछ।
उज्बेकिस्तान आफ्नो पहिलो सहभागितालाई सम्झनायोग्य बनाउन कप्तान एल्डोर शोमुरोडोभ र मिडफिल्डर ओटाबेक शुकुरोभको जादुई प्रदर्शनको पर्खाइमा छ। उता कोलम्बियाली टोली भने सन् २०१४ को गोल्डेन बुट विजेता जेम्स रोड्रिगेज र लिभरपुलका स्टार विङ्गर लुइस डियाजको जोडीको मद्दतमा सुखद सुरुवात गर्न चाहन्छ।
दुवै टोलीको सम्भावित सुरुआती ११:
- उज्बेकिस्तान: युसुपोभ, अलिकुलोभ, अशुर्मतोभ, एशमुरोडोभ, नसरुल्लाएभ, हमरोबेकोभ, शुकुरोभ, उरुनोभ, जशुरबेक, माशारिपोभ, शोमुरोडोभ।
- कोलम्बिया: वर्गास, मुनोज, साञ्चेज, कुएस्टा, मोजिका, रिओस, लेर्मा, एरिआस, रोड्रिगेज, कोर्डोबा, डियाज।एजेन्सी










प्रतिक्रिया