आज मौसमी प्रणालीमा त्रिवेणी प्रभाव: यी स्थानमा वर्षा र हिमपातको चेतावनी

नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको त्रिवेणी प्रभावले देशभरको मौसममा फेरबदल ल्याएको छ। यस संयुक्त मौसमी प्रणालीका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र वर्षा हुने अवस्था सिर्जना भएको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहने देखिन्छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने मौसम सामान्यतया सफा रहनेछ।

बुधबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एकदुई स्थानमा पनि यस्तै मौसमी गतिविधि हुने अनुमान छ। तराईतर्फ कोशी र मधेस प्रदेशका सीमित क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावा चल्ने र अत्यधिक गर्मी हुने देखिन्छ।

Advertisement

रातिको समयमा पनि हिमाली, पहाडी र कोशीको तराई भूभागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थान तथा बागमती र कोशीकै तराईका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री