कैलास तीर्थयात्रीको रोजाइमा रसुवागढी नाका, साढे ५ महिनामा १७ हजारभन्दा बढी चीन प्रस्थान

मानसरोवर–कैलास दर्शनका लागि जाने तीर्थयात्रीको रोजाइमा रसुवागढी नाका पर्न थालेपछि नेपाल–चीन सीमा क्षेत्रमा भीडभाड बढेको छ । यो मार्ग छोटो, सहज र सुविधाजनक भएकाले विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो ।

Advertisement

अध्यागमन कार्यालय रसुवागढीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म यस नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । चीन प्रवेश गरेका यी यात्रुमध्ये अधिकांश मानसरोवर कैलास जाने टोली रहेको अध्यागमन कार्यालयका प्रमुख यादव भण्डारीले बताए ।

गत मार्च महिनासम्म ८१२ जना यात्रु मात्र रसुवागढी पुगेकोमा अप्रिल १४ सम्म यो संख्या बढेर १४ हजार २४० पुगेको थियो । प्रस्थान गर्नेहरूमा नेपाल र भारतसहित अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, युके, मलेसिया तथा जर्मनीका नागरिक रहेका छन् ।

Advertisement

काठमाडौँबाट बसमार्फत करिब १० घण्टा र हेलिकोप्टरमार्फत करिब आधा घण्टामै रसुवागढी पुग्न सकिने व्यवस्था छ । काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोलासम्म केही यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले दिए ।

यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा प्रवेश आज्ञा अनुमति अभिलेख तथा दर्ता कार्यका लागि कर्मचारी अभाव देखिएको छ । हाल कार्यालयमा दुईवटा डेस्कबाट मात्र सेवा प्रवाह भइरहेकाले यात्रुहरू लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।

भाडाको घरबाट सेवा दिनुपरेकाले हालको संरचनामा सेवा विस्तार गर्न कठिन रहेको कार्यालय प्रमुख भण्डारीले बताए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा व्यवस्थित हुने उनको भनाइ छ ।

यात्रुहरू भिसा दर्ताका लागि बस्ने स्थान नजिकै चीनबाट आयातित विद्युतीय सवारीसाधन सडक किनारमै पार्किङ गर्दा समस्या थपिएको छ । स्थानीय बासिन्दाले सडकको यो अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग आग्रह गरेका छन् ।

यसैगरी जनवरीदेखि जुन १४ तारिखसम्म भिसा दर्ता तथा सेवा शुल्कबाट ६२ लाख ८० हजार ४२० रुपैयाँ ८६ पैसा राजस्व सङ्कलन भएको छ । यात्रुको सङ्ख्या बढेसँगै स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात तथा अन्य व्यापार–व्यवसायसमेत चलायमान बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री