
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्दै स्ट्रेट अफ होर्मुजबाट हुने ढुवानी पुनः सुरु गर्ने प्रारम्भिक सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा ओर्लिएको छ।
डब्ल्युटीआईको मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात् ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ। गत शुक्रबार पनि यी दुवै किसिमका तेलको मूल्यमा तीन प्रतिशतभन्दा बढीको गिरावट आइसकेको थियो।
मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्रीका अनुसार दुवै देशले आगामी शुक्रबार स्विट्जरल्यान्डमा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज क्षेत्र अब कुनै पनि शुल्कविना खुला रहने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी हट्ने बताए।
इरानको मेहर समाचार एजेन्सीका अनुसार सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने उल्लेख गरिएको छ।
केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररका अनुसार तेलको प्रवाह पुनः पुरानै अवस्थामा फर्किने सम्भावना देखिएपछि कच्चा तेलमा थपिएको भूराजनीतिक जोखिमको मूल्य तीव्र रूपमा घटेको हो। विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यो मार्ग तीन महिनाभन्दा बढी समयदेखि युद्धका कारण बन्द रहँदा विश्वले लाखौँ ब्यारेल आपूर्ति गुमाइसकेको छ।
पश्चिम एसियाका उत्पादकहरूले कति चाँडो तेल उत्पादन र निर्यात पुनः सुरु गर्न सक्छन् भन्ने विषयलाई लगानीकर्ताहरूले नजिकबाट नियालिरहेका छन्।
रणनीतिकार विवेक धरका अनुसार स्ट्रेट अफ होर्मुजबाट हुने तेलको प्रवाह युद्धपूर्वको तुलनामा ६० देखि ७० प्रतिशत मात्र पुगे पनि बजारलाई पुरानै अवस्थामा फर्काउन पर्याप्त हुनेछ। यसले यस वर्षको अन्त्यसम्ममा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलर पुग्ने पूर्वानुमानमा रहेका जोखिमहरूलाई केही कम गर्ने देखिएको छ।
इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले ६० दिनको युद्धविराम अवधिमा थप बृहत् सम्झौताका लागि वार्ता गरिने जानकारी दिए। आईजी बजार विश्लेषक टोनी सिकामाेरले भने आगामी ६० दिनको वार्ता र विशेष गरी आणविक पक्षका अनिश्चितताहरूका कारण कच्चा तेलको मूल्य तत्कालै योभन्दा बढी तल झर्ने सम्भावना कमै रहेको उल्लेख गरे।










प्रतिक्रिया