‘बुक फ्रि डे’ र एकीकृत भान्छाघरले सामुदायिक विद्यालयमा बढ्यो आकर्षण

मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’का रूपमा सञ्चालन गर्न थालेसँगै विद्यार्थीको आकर्षण बढेको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा यस्ता विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।

Advertisement

राष्ट्रिय सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको स्थलगत अवलोकन कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरिएको बताए ।

अत्यधिक बढ्दै विद्यार्थीको चाप

प्रवक्ता आचार्यले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएकाले अहिले भर्ना नै नपाउने अवस्था बनेको दाबी गरे । मध्यपुरथिमि नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका उनले वडा कार्यालयले भौतिक पूर्वाधारसँगै सामाजिक सुरक्षा, स्वास्थ्योपचार र शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।

केन्द्रिकृत भान्छाघरबाट दिवा खाजा

Advertisement

नगरपालिकाले विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा केन्द्रिकृत भान्छाघर सञ्चालन गरी गुणस्तरीय दिवा खाजा खुवाउँदै आइरहेको छ । प्रत्येक विद्यालयमा अलगअलग भान्छाको व्यवस्था गर्दा समय, श्रम र लागत बढ्ने भएकाले ‘केन्द्रिकृत भान्छाघर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको हो ।

यस कार्यक्रमबाट प्रारम्भिक बालविकास कक्षा (इसिडी) देखि कक्षा ५ सम्मका करिब २ हजार ८ सय विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ६ हजार ५ सयभन्दा बढी विद्यार्थीको दुर्घटना बिमा कार्यक्रम पनि अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री