
विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुर र १८ जना भिक्षु तथा उपासक उपासिकाको टोलीले लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको हो ।
मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेको उक्त टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरे ।
शान्तिको पैरवी गर्दै पदयात्रा
पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन, शान्ति शिक्षा, करुणा, दया र सदाचार सिकाउँदै ठाउँठाउँमा ध्यानसमेत गराएका छन् । स्वागत कार्यक्रममा भिक्षु पन्याकरले संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको र शान्ति व्यक्ति आफैँबाट सुरु हुने भएकाले सबै यसमा लाग्नुपर्नेमा जोड दिए ।
उनले भारतमा पदयात्रा गर्दा सन् २०२२ देखि आफूहरूलाई पछ्याएको कुकुर ‘अलोका’ को बारेमा चर्चा गर्दै यसलाई सन् २०२५ को अन्त्यमा अमेरिकाको टेक्सासबाट यात्रा सुरु गर्दा कोलकाताबाट उता लगिएको जानकारी दिए । हाल शान्तिको दूत बनेको उक्त कुकुरले लामो समयदेखि आफूहरूलाई साथ दिँदै हिँडेको उनले बताए ।
काठमाडौँमा राष्ट्रपतिसँग भेटघाट गरिने
नगरपालिकाका कार्यवाहक प्रमुख हरिजन र कोषका वरिष्ठ निर्देशक राईले यस पदयात्राले लुम्बिनीको शान्ति पर्यटनमा टेवा दिने र वैश्विक एकताको भावनालाई थप ऊर्जावान् बनाउने विश्वास व्यक्त गरे ।
भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणका क्रममा उच्च तहमा भेटघाटको व्यवस्थापन मिलाउन आफू सक्रिय भएर लागेको जानकारी दिए । पदयात्राको टोली सोमबार बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्ध क्षेत्रहरूको अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने कार्यक्रम छ ।










प्रतिक्रिया