
विश्वकप फुटबलमा आइतबार पाँच पटकको च्याम्पियन ब्राजिल बलियो प्रतिद्वन्द्वी मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। विश्व वरीयताको सातौँ स्थानमा रहेको मोरक्कोविरुद्ध सुरुवाती दबाब झेलेको ब्राजिलले खेलमा पुनरागमन गर्दै अङ्क बाँडेको हो।
सन् १९३४ यता विश्वकपको आफ्नो पहिलो खेलमा अपराजित रहेको ब्राजिलले त्यो कीर्तिमानलाई भने २१ खेलसम्म निरन्तरता दिएको छ। मोरक्कोका लागि २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
विनिसियसको गोल र नेयमारको अभाव
ब्राजिलका स्टार फरवार्ड विनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनको यो अन्तर्राष्ट्रिय खेल जीवनको १०औँ गोल भए पनि उनले गोल गर्दा ब्राजिलले जित्न नसकेको यो पहिलो पटक हो।
सन् २००२ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ब्राजिललाई यस खेलमा स्टार खेलाडी नेयमारको अभाव खड्कियो। पिँडुलाको चोटका कारण स्वास्थ्योपचार गराइरहेका नेयमार यस खेलमा टोलीमा सामेल थिएनन्।
स्कटल्यान्डको ४४ वर्षपछिको इतिहास
यसै ग्रुप ‘सी’ को अर्को खेलमा स्कटल्यान्डले हेटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। बुस्टन स्टेडियममा भएको खेलको २८औँ मिनेटमा जोन म्याक्गिनले गरेको गोल नै खेलको निर्णायक बन्यो।
स्कटल्यान्डले फुटबल विश्वकपको इतिहासमा ४४ वर्षपछि पहिलो खेल जित्दै सुखद सुरुआत गरेको हो। यसअघि स्कटल्यान्डले सन् १९८२ को विश्वकपमा न्युजिल्यान्डलाई ५-२ गोलले हराएर पहिलो खेल जितेको थियो।
अङ्क तालिकाको अवस्था
यो जितसँगै समूह ‘सी’ को अङ्क तालिकामा ३ अङ्क जोड्दै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। समान १-१ अङ्क बनाएका मोरक्को दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन्।
पहिलो खेलमै पराजय ब्यहोरेको हेटी भने अङ्कविहीन रहँदै तालिकाको अन्तिम स्थानमा खुम्चिएको छ। स्कटल्यान्डले विश्वकपमा समग्र रूपमा ३६ वर्षपछि पहिलो जित दर्ता गराउन सफल भएको हो।










प्रतिक्रिया