
कैलालीको धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले दुनाटपरी व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छन् । विगत सात वर्षदेखि ८ लाख रुपैयाँको व्यक्तिगत लगानीमा उनले सानीडाँडा फूलबारी दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी हुन् ।
सुरुमा १ लाख ५० हजार रुपैयाँ लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उनले यो व्यवसाय सुरु गरेकी थिइन् । पछि काम सिक्दै गएपछि र आम्दानी मनग्य हुन थालेपछि उनले एक्लैले व्यवसाय विस्तार गरेको बताइन् ।
राहदानी बनाएर विदेश जान तयार भएकी भावनाले घरको आर्थिक स्थिति सुध्रिएपछि वैदेशिक रोजगारको मोह त्यागेकी हुन् । आफू स्वरोजगार हुनुका साथै उनले स्थानीय ५ जना महिलालाई रोजगारी समेत दिएकी छन् ।
यस उद्योगबाट मासिक २ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले बताइन् । सबै खर्च कटाएर मासिक ३५ हजार रुपैयाँ बचत हुने र त्यसैबाट छोराछोरीको शिक्षादीक्षाको खर्च धानिएको उनले जानकारी दिइन् ।
सुरुमा आर्थिक स्थिति कमजोर भए पनि अहिले यो व्यवसायका कारण भावनाको जीवनस्तरमा निकै सुधार आएको छ । उनले धनगढी, अछाम, बर्दिया र हसुलियाका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरी सम्बन्धी तालिम समेत दिइसकेकी छन् ।
अहिले उनको उद्योगबाट दैनिक ३ हजार दुना र ३ हजार टपरी उत्पादन हुँदै आएको छ । टपरी ४ रुपैयाँ र दुना १ रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् ।
यहाँ उत्पादित दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया र पोखरासम्म पठाउने गरिएको छ । सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उनले उल्लेख गरिन् ।
भावना सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भई गत वर्ष सम्मानित समेत भएकी थिइन् । सरकारबाट अनुदान प्राप्त भएमा व्यवसायलाई थप विस्तार गर्ने उनको योजना छ ।










प्रतिक्रिया