
पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकको सङ्ख्या ३ हजार ७ सयभन्दा बढी पुगेको छ । यस वर्ष मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेका हुन् ।
हालसम्म ३ हजार ७ सय ८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक हुम्ला प्रवेश गर्न सुरु गरेका हुन् ।
हुम्ला आउने पर्यटकमा १ हजार ८ सय ९२ महिला र १ हजार ८ सय ८८ पुरुष रहेका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २ सय जनासम्म भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका छन् ।
पर्यटकको आगमन बढेसँगै यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुनुका साथै व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको छ । सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोला बोक्न ३० भन्दा बढी भरियाले काम पाइरहेका छन् भने स्थानीय कृषिउपजले पनि राम्रो बजार पाउन थालेको छ ।
पर्यटक ओसार्न ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी ६ वटा निजी एयरलाइन्सले बिहान ७ बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट उडान गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहका अनुसार सिमकोटबाट हिल्सासम्म पर्यटक पुर्याउन ६ वटा हेलिकप्टरले बिहान ६:३० देखि बेलुका ७ बजेसम्म उडान भर्ने गरेका छन् ।
पर्यटकको यो चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि देखिएको छ । भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुनुका साथै कतिपय बेला हवाई ट्राफिक जाम समेत हुने गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।










प्रतिक्रिया