
चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल त्यहाँका विभिन्न कार्यक्रममा व्यस्त बनेका छन् ।
चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा मन्त्री खनाल आइतबार बिहान बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे ।
आइतबार अपराह्न परराष्ट्रमन्त्री खनाल आफ्नो सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भए । उनले त्यहाँ उपस्थित नेपाली समुदायसँग अन्तरक्रिया गरेको दूतावासले जनाएको छ ।
कार्यक्रममा मन्त्री खनालले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको बताए । उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन समेत आह्वान गरे ।
यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए ।
मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिए । उनले त्यहाँ रहेका नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न समेत सचेत गराए ।










प्रतिक्रिया