विश्वकपमा छनोट भएर पनि किन गएन भारत ?

सन् २०२६ को फिफा विश्वकप फुटबल आगामी जुन ११ देखि जारी छ । विश्वकपको इतिहासमा पहिलो पटक तीनवटा देशले संयुक्त रूपमा यसको आयोजना गरेका छन् ।

Advertisement

यस प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन लागेको हो। तीन देशका १६ सहरमा हुने कुल १०४ खेलपछि विश्वकपको नयाँ विजेताको टुङ्गो लाग्ने छ।

यसपटक अमेरिकाका १३, मेक्सिकोका तीन र क्यानडाका दुई सहरमा खेलहरू सञ्चालन हुने छन्। यो आयोजनासँगै मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो देश बनेको छ ।

Advertisement

विश्वकपको इतिहासमा पहिलो पटक कुल ४८ टोलीबीच कडा प्रतिस्पर्धा हुँदै छ। यसअघिका सातवटा विश्वकपमा ३२ टोली मात्र सहभागी हुने गरेका थिए।

यस पटक खेल सङ्ख्या बढेकाले फिफाले कम्तीमा ६ अर्ब दर्शकले प्रतियोगिता हेर्ने अनुमान गरेको छ। यो सङ्ख्या चार वर्षअघि कतारमा भएको विश्वकपको तुलनामा १ अर्बले बढी हो।

विश्वकपको यस २३औँ संस्करणमा केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक डेब्यु गर्दै छन्। तर, नेपाली तथा दक्षिण एसियाली खेलकुद प्रेमीका लागि भने भारत सहभागी नहुँदा केही खल्लो महसुस भएको छ।

भारतले हालसम्म विश्वकपमा कहिल्यै सहभागिता जनाउन सकेको छैन। तर, आजभन्दा ७६ वर्षअघि अर्थात् सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा भारतले खेल्ने निश्चित भइसकेको थियो।

दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेको थिएन। सन् १९५० मा १२ वर्षको पर्खाइपछि आयोजना हुन लागेको विश्वकपका लागि मात्र ३३ देशले छनोट चरण खेल्न सहमति जनाएका थिए।

छनोट समूह १० मा भारतसँगै बर्मा र फिलिपिन्स परेका थिए। तर, बर्मा र फिलिपिन्सले अन्तिम समयमा नाम फिर्ता लिएपछि भारत बिनाकुनै खेल विश्वकपका लागि छनोट भएको थियो।

विश्वकपको ड्रअनुसार भारत समूह ‘३’ मा स्वीडेन, इटाली र पाराग्वेसँगै परेको थियो। तत्कालीन समयमा इटाली र पाराग्वेको टोली कमजोर अवस्थामा रहेकाले भारतले राम्रो एक्सपोजर पाउने सम्भावना थियो।

सन् १९४८ को लन्डन ओलम्पिकमा फ्रान्सजस्तो बलियो टोलीलाई भारतले कडा टक्कर दिँदै १–२ ले मात्र पराजित भएको थियो। त्यो समयमा भारतसँग अहमद खान, एस रमन र एस मेवालालजस्ता उत्कृष्ट खेलाडी थिए।

लन्डन ओलम्पिकमा भारतीय खेलाडीहरू नङ्गो खुट्टाले मैदानमा उत्रिएका थिए। राइट ब्याकका ताज मोहम्मदले मात्र बुट लगाएर खेलेका थिए।

भारतले सन् १९५० को विश्वकपमा किन भाग लिएन भन्नेबारे ठोस आधिकारिक कारण भेटिँदैन। अखिल भारतीय फुटबल महासङ्घले खेलाडी चयनमा असहमति र अभ्यासका लागि पर्याप्त समय नभएको बताएको थियो।

धेरै वर्षसम्म फिफाले नङ्गो खुट्टा खेल्न प्रतिबन्ध लगाएकाले भारत नगएको हल्ला चल्यो। तर, खेल पत्रकार जयदीप बसुको पुस्तकअनुसार खेलाडीहरूको ब्यागमा बुटहरू सुरक्षित थिए र त्यो उनीहरूको व्यक्तिगत रोजाइको विषय मात्र थियो।

आर्थिक अभावका कारण भारत विश्वकपमा नगएको दाबी पनि गलत सावित भएको छ। ब्राजिल आफैँले भारतको भ्रमण खर्चको ठुलो हिस्सा बेहोर्ने प्रस्ताव गरेको थियो।

त्यो समयमा भारतमा फुटबलभन्दा ओलम्पिक र क्रिकेटको क्रेज बढी थियो। भारतीय अधिकारी र खेलाडीहरूले विश्वकपको भन्दा सन् १९५१ मा दिल्लीमा हुने एसियाली खेलकुदको तयारीलाई बढी महत्त्व दिएका थिए।

त्यस समयमा विश्वकप खेल्ने खेलाडीलाई ‘व्यावसायिक’ (प्रोफेसनल) खेलाडीको ट्याग लाग्ने डर थियो। व्यावसायिक खेलाडी भएपछि ओलम्पिक र एसियाली खेलकुद खेल्न नपाइने नियम थियो।

हङ्गेरी र रुसजस्ता देशले आफ्ना खेलाडीलाई सेनाको सदस्य देखाएर ओलम्पिक पनि खेलाउने गर्थे। तर, भारतीय अधिकारीहरूमा यो प्राविधिक ज्ञानको अभाव हुँदा ओलम्पिक छुट्ने डरले विश्वकपबाट नाम फिर्ता लिइयो।

यही एउटा ऐतिहासिक भुलका कारण भारतले फुटबलको सबैभन्दा ठुलो मञ्चमा आजसम्म पाइला टेक्न सकेको छैन। हरेक चार वर्षमा विश्वकप आउँदा खेल प्रेमीहरूलाई यो टिसले सधैँ पोल्ने गर्छ।बिबिसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री