
बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढाए पनि उद्योगहरूको उत्पादन क्षमता उपयोग भने निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको यो टिठलाग्दो अवस्था सार्वजनिक गरेको हो।
बैंकहरूले औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २०८१ पुसको तुलनामा २०८२ पुसमा ७.९९ प्रतिशतले बढेको छ। योसँगै उद्योग क्षेत्रमा मात्रै प्रवाह भएको कुल कर्जा १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.८२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यसमध्ये सबैभन्दा बढी गैर-खाद्य वस्तु उत्पादनमा ३५.६७ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६७ प्रतिशत कर्जा प्रवाह भएको छ।
खर्बौँ लगानी भए पनि उद्योगहरूको औसत क्षमता उपयोग भने घटेर ४२.११ प्रतिशतमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा उद्योगहरूले ४२.९४ प्रतिशत क्षमता उपयोग गरेका थिए।
प्रतिवेदनअनुसार सर्वेक्षणमा समेटिएका १९५ उद्योगमध्ये गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९५.७४ प्रतिशत देखिएको छ। लत्ता कपडा, जलविद्युत्, टायर तथा ट्युब र चाउचाउ उद्योगको क्षमता उपयोग पनि सन्तोषजनक रहेको छ।
गार्मेन्ट, चिनी, स्टिलजन्य उत्पादन, भटमासको तेल, बहुमूल्य धातु, बियर र मदिरा उद्योगको क्षमता उपयोग अघिल्लो वर्षभन्दा बढेको छ। सिमेन्ट, बिस्कुट, धागो र प्रशोधित छाला उद्योगको उत्पादन क्षमतामा पनि सुधार देखिएको छ।
अर्कोतर्फ जिआई पाइप, वनस्पती घिउ, चुरोट, इँटा, चप्पल र चिया उद्योगको क्षमता उपयोग घटेको छ। प्रशोधित दूध, कागज, बिजुलीको तार, केबुल र फलामको छड उत्पादन गर्ने उद्योगहरूको क्षमतामा पनि ह्रास आएको छ।
प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोग सबैभन्दा बढी ५०.४४ प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेशका उद्योगहरूको क्षमता उपयोग भने सबैभन्दा कम ३०.८२ प्रतिशत मात्रै छ।
समीक्षा अवधिमा मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा उद्योगको क्षमता उपयोगमा केही सुधार आएको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग भने अघिल्लो वर्षको तुलनामा घटेको छ।










प्रतिक्रिया