२४ वर्षपछि विश्वकप फर्किएको टर्की पहिलो खेलमै अष्ट्रेलियासँग स्तब्ध

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा टर्की बलियो टोली अष्ट्रेलियासँग २–० गोल अन्तरले पराजित भएको छ। लामो समयको पर्खाइपछि विश्वकपमा पुनरागमन गरेको टर्कीले आफ्नो पहिलो खेलमै अप्रत्याशित हार बेहोर्नु परेको हो।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा आइतबार भएको खेलमा अष्ट्रेलियाले सानदार काउन्टर अट्याकिङ प्रदर्शन गर्‍यो। खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि टर्कीले अष्ट्रेलियाको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।

इरानकुन्डा र मेटकाफको गोल

Advertisement

खेलको २६ औं मिनेटमा अष्ट्रेलियाका नेस्टोरी इरानकुन्डाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको टर्कीले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफको ७४ औं मिनेटमा कन्नर मेटकाफले दोस्रो गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरे। टर्कीका मिडफिल्डर इस्माइल युक्सेकले मिडफिल्डमा बल गुमाएपछि मेटकाफले त्यसको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे।

टर्कीको फर्किने प्रयास असफल

टर्कीका युवा स्टार अर्दा गुलेर, हाकान चालहानोग्लु र केरेम अक्तुरकोग्लुले गोलका केही राम्रा अवसरहरू सिर्जना गरेका थिए। अष्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले उत्कृष्ट बचाउ गर्दै टर्कीका प्रहारहरूलाई असफल बनाइदिए।

विश्वकपमा टर्कीको यो पुनरागमन सन् २००२ पछिको पहिलो हो। अष्ट्रेलियाविरुद्धको यो हारसँगै टर्कीलाई समूह चरण पार गर्न अब आउँदा खेलहरूमा निकै दबाब पर्ने देखिन्छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री