असारका लागि बैंकहरूको नयाँ ब्याजदर: कुन बैंकको कति ?

नेपालका वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरूले सार्वजनिक गरेको तालिका अनुसार जेठ महिनाको तुलनामा असारमा निक्षेपको औषत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगततर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ। संस्थागत निक्षेपको औषत दरमा पनि गिरावट आएर जेठको ३.२०४ प्रतिशतविन्दुबाट ३.१८ प्रतिशतविन्दुमा झरेको छ।

ब्याजदर घटाउने बैंकहरू

Advertisement

असार महिनाका लागि लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा धेरै ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन्। हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु र प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।

एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदरमा ०.०५ प्रतिशतविन्दुले कमी ल्याएका छन्। संस्थागततर्फ एनआईसी एशिया बैंकले ०.५ प्रतिशतविन्दु, हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु र एनएमबि बैंकले ०.०५ प्रतिशतविन्दुले ब्याजदर घटाउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने संस्थागत दर ०.२७ प्रतिशतविन्दुले बढाएको छ।

१४ बैंकको ब्याजदर स्थिर

असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले आफ्नो ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकसहित १४ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेस्ट बैंक र सिद्धार्थ बैंकले पनि असारका लागि पुरानाे ब्याजदरलाई नै कायम राखेका छन्। स्थिर राख्ने बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ सबैभन्दा बढी ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री