ट्रम्पको ८०औँ जन्मदिन : ह्वाइट हााउसमै ६ करोड डलरको युएफसी अखाडा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनका अवसरमा ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन्। अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याए पनि यसको स्वरूपलाई लिएर विवाद चर्किएको छ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दै छन्। करिब ६ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको जन्मदिनसँग संयोगवश जुध्न पुगेको हो।

Advertisement

द्वन्द्व र मूल्यवृद्धिका बिच आलोचना

इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको आलोचकहरूले टिप्पणी गरेका छन्। युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो तडकभडकपूर्ण प्रदर्शनले गलत सन्देश दिने उनीहरूको तर्क छ।

यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गरेका छन्। मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उनले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताएका थिए।

ओभल अफिसबाटै रिङमा खेलाडी

Advertisement

ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ। युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको दाबी गरे।

कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ। आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न ४ हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ।

अदालतबाट हरियो सङ्केत र भव्य तयारी

यो कार्यक्रम रोक्न स्थानीय बासिन्दाले अदालतमा दायर गरेको निवेदन शुक्रबार अस्वीकृत भएसँगै कानूनी अवरोध हटेको हो। अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समारोहमा ऐतिहासिक झलक प्रस्तुत गर्ने विशेष कार्यक्रम, सैन्य ब्यान्ड, सैन्य विमानको उडान प्रदर्शन, प्यारासुट प्रदर्शन तथा अन्त्यमा १० मिनेट लामो आतशबाजी हुँदै छ।

ट्रम्पको जन्मदिनसँग जोडिएको यो कार्यक्रमले वासिङ्टनको ठूलो क्षेत्र प्रभावित बनाएको छ। लिङ्कन मेमोरियल नजिक खेलाडीहरूको तौल मापन गरिएको छ भने नेशनल मल क्षेत्रमा विशाल पर्दामार्फत करिब १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।

उमेर र स्वास्थ्यमाथि बहस

यसबीच राष्ट्रपति ट्रम्पको उमेर र स्वास्थ्यबारे पनि बहस जारी छ। ट्रम्प स्वयं पनि हातको चोट, खुट्टाको शिरासम्बन्धी समस्या तथा सार्वजनिक कार्यक्रममा थकान देखिएको विषयमा चर्चामा रहने गरे पनि उनका चिकित्सकले भने राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको दाबी गरेका छन्।

हालै सार्वजनिक एक भिडियोमा ट्रम्पले ८० वर्ष पुगेकोमा आफू पूर्ण रूपमा खुसी नभएको स्वीकार गर्दै यो आफ्नो मनपर्ने सङ्ख्या नभएको बताएका थिए। जर्ज वासिङ्टन विश्वविद्यालयका सञ्चारविद् पिटर लोगेका अनुसार रियालिटी टेलिभिजनको पृष्ठभूमिबाट आएका ट्रम्पले राष्ट्रपतिको भूमिकालाई पनि आफ्नो पूर्व सार्वजनिक जीवनकै शैलीमा प्रस्तुत गरिरहेका छन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री