भीरबाट टेम्पो खसालेको घटनाबारे के भन्छ वन कार्यालय ?

कैलालीको गोदावरीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भनिएको घटनामा डिभिजन वन कार्यालयले आफ्नो बचाउ गरेको छ।

Advertisement

कार्यालयले पत्रकार सम्मेलन गर्दै वन कर्मचारीले नियतवश टेम्पो नखसालेको दाबी गरेको हो।

गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न वन कार्यालयले नियमित अभियान चलाउँदै आएको छ।

सार्वजनिक वन क्षेत्र कब्जा गरी खोका–छाप्रा निर्माण गर्ने र किनबेच गर्ने गतिविधि बढेपछि कार्यालयले संरचना हटाउन निर्देशन दिएको थियो।

Advertisement

वरिष्ठ डिभिजनल वन अधिकृत डा रामविचारी ठाकुरले चुरे क्षेत्रको संवेदनशीलता जोगाउन अवैध संरचना हटाउन लागिएको बताए। अन्य संरचना हटे पनि घनश्याम धामीले प्रयोग गर्दै आएको कवाडी टेम्पो हटाउन अटेर गरिएको वन कार्यालयको भनाइ छ।

अतिक्रमण हटाउने क्रममा टेम्पो धकेल्दा भिरालो भू-बनावटका कारण अनियन्त्रित भई भीरबाट खसेको कार्यालयले जनाएको छ। गुड्ने अवस्थामा नरहेको उक्त टेम्पोलाई यसअघि पनि वन कर्मचारीले धकेलेर घरसम्म पुर्‍याइदिएका थिए।

तर सोही स्थानमा पुनः पसल सञ्चालन गरेपछि कर्मचारीले हटाउन खोज्दा विवाद भएको थियो। वन कार्यालयले कानुनअनुसार नै अतिक्रमण नियन्त्रण भइरहेको भन्दै घटनालाई अतिरञ्जित नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री