
परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार उनी चीनतर्फ प्रस्थान गरेका हुन्।
नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो भ्रमण भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग आपसी सहकार्य सबल बनाउने विषयमा वार्ता गर्नेछन्।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम छ। नेपालमा वैदेशिक लगानी भित्र्याउन बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत उनी सहभागी हुनेछन्।
त्यस अवसरमा मन्त्री खनालले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग विशेष छलफल गर्नेछन्। चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानीका सम्भावनाबारे आकर्षित गर्न यो छलफल केन्द्रित हुनेछ।
नेपाली दूतावासले परराष्ट्रमन्त्री खनालको सम्मानमा एक स्वागत समारोहको आयोजना समेत गर्ने भएको छ। उक्त समारोहमा उनले चीनमा रहेका नेपाली समुदायसँग समसामयिक विषयमा अन्तरक्रिया गर्नेछन्।
भ्रमणका सबै औपचारिकता पूरा गरेर मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यतालिका छ।










प्रतिक्रिया