
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सालिकराम घिमिरे सभापति पदमा विजयी भएका छन्। दाङको घोराहीस्थित सभागृहमा भएको निर्वाचनमा कुल ५४२ मत खसेको थियो।
चुनावमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। धेरै मत पाउनेमध्ये दोस्रो स्थानमा रहेका उम्मेदवार गोपाल घिमिरेले समर्थन गरेपछि सालिकराम विजयी बनेका हुन्।
प्रथम चरणको मतदानमा सालिकरामले १९९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले ८७ मत मात्रै ल्याएका थिए।
दुई उम्मेदवारबिच निर्वाचनमा ११२ मतको फरक देखिएको थियो। अन्य प्रतिस्पर्धीमध्ये गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु ज्ञवाली भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत पाए।
विजेता सालिकराम रास्वपा स्थापनाकालदेखि प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति भइसकेका व्यक्ति हुन्। दोस्रो स्थानमा रहेका गोपाल भने गत फागुन २१ को चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए।
सभापति पदका लागि केन्द्रीय संगठन विभागका सदस्यहरू, प्रतिनिधिसभाकी समानुपातिक सांसद र डाक्टरसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए। अन्ततः आन्तरिक समीकरण र सहमतिका आधारमा सालिकरामले प्रदेशको कमान्ड सम्हाल्ने जिम्मेवारी पाए।










प्रतिक्रिया