
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइडबण्डको स्थलगत निरीक्षण गरेलगत्तै सरकारले आसन्न वर्षात्को सम्भावित क्षति कम गर्न सेना परिचालन गरेको हो।
गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तटीय बस्ती जोगाउन यो काम नेपाली सेनालाई सुम्पिएको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सुरु भएको पुनर्निर्माणका लागि श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहितको प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरिसकेको छ।
तत्कालको क्षति न्यूनीकरण र प्राविधिक तयारी
सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न ठाउँबाट सेनाको टोली योजनास्थलमा आउने क्रम सुरु भइसकेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्दै डिभिजन सडक कार्यालयलाई टिपरलगायतका आवश्यक सामग्री स्थानीयस्तरबाट व्यवस्थापन गर्न र सेनाको जनशक्ति पूर्ण रूपमा उपयोग गर्न आग्रह गरे।
गत वर्ष पनि नेपाली सेनाले समयमै जिम्मेवारी पूरा गरेका कारण महाकाली नदीले गाइडबण्डमा थप क्षति पुर्याउन पाएको थिएन। सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवका अनुसार गत वर्षको बाढीले गाइडबण्डको करिब ३ सय मिटर क्षेत्रमा क्षति पुर्याएको थियो।
निर्माण कम्पनी बाहिरिएपछि सेनाको सहारा
यादवले मेसिनरी र प्राविधिक सहयोग सडक डिभिजनको रहने र जनशक्ति सेनाले उपलब्ध गराएको जानकारी दिए। पक्की पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) को विवाद नटुङ्गिएका कारण निर्माण कम्पनी गत वर्षदेखि नै कामबाट बाहिरिएको छ।
पुल निर्माण व्यवसायी र सडक विभागबीचको यो मुद्दा अहिले मध्यस्थ न्यायाधीकरण (आर्बिट्रेसन) मा छलफलको चरणमा रहेको छ। विवादका कारण मुख्य काम रोकिएपछि वर्षायाममा हुनसक्ने ठुलो क्षति रोक्न सरकारले पुनः सेनालाई अघि सारेको हो।










प्रतिक्रिया