
शकिरा र बर्ना ब्वायको संयुक्त प्रस्तुति रहेको ‘दाई दाई’ विश्वकप फुटबलको इतिहासकै सर्वकालिन उत्कृष्ट गीत घोषित भएको छ। प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले आफ्ना पाठकमाझ गराएको सर्वेक्षणमा यो गीतले सबै समयको उत्कृष्ट विश्वकप गीतको उपाधि पाएको हो।
सन् १९९० देखि अहिलेसम्म विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेका कुल १० वटा आधिकारिक गीतहरूलाई समेटेर यो मतदान गराइएको थियो। सर्वेक्षणमा ‘दाई दाई’ ले ३१ दशमलव दुई आठ प्रतिशत मत प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गरेको बिलबोर्डले उल्लेख गरेको छ।

शकिराकै ‘वाका वाका’ दोस्रो स्थानमा
यस सूचीको दोस्रो स्थानमा पनि शकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाका : दिस टाइम फर अफ्रिका’ पर्न सफल भएको छ। सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा अत्यधिक रुचाइएको उक्त गीतले यस पटकको सर्वेक्षणमा २६ दशमलव छ चार प्रतिशत मत पाएको छ।
जेठ महिनामा संगीतकर्मी शक र बर्ना बोयले संयुक्त रूपमा सार्वजनिक गरेको फिफा विश्वकप २०२६ को यो आधिकारिक गीतलाई फुटबल समर्थकले निकै रुचाएका छन्। अफ्रोबिट्स, डान्स-पप, रेगेटोन र विश्व संगीतको उत्कृष्ट मिश्रण रहेको यस गीतले खेलकुदको एकता र उत्साहको सन्देश दिएको छ।
दिग्गज खेलाडीको चर्चा र रिकी मार्टिन तेस्रो
यस गीतको अर्को रोचक पक्ष भनेको यसमा फुटबल दुनियाँका दिग्गज खेलाडीहरू डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीको नाम उल्लेख गरिनु हो। यसले गर्दा पनि फुटबल प्रेमीमाझ यो गीत थप सान्दर्भिक र लोकप्रिय बन्न पुगेको देखिन्छ।
यसैबीच, सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको सदावहार चर्चित गीत ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ। विश्वकपको इतिहासकै लोकप्रिय मानिने यो गीत बिलबोर्ड हट १०० को ६० औँ स्थानसम्म पुगेको थियो भने यसले उत्कृष्ट ल्याटिन पप प्रस्तुति विधामा ग्रामी अवार्डसमेत जितेको थियो।
पाठकहरूले पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटेले गाएको ‘ओले ओला (वी आर वन)’ तथा इल डिभो र टोनी ब्र्याक्सटनको ‘द टाइम अफ आवर लाइभ्स’ लाई पनि मन पराएका छन्।










प्रतिक्रिया