मूल्यवृद्धि र सामग्री अभावले सडक योजना ठप्प

पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन्। अलकत्रा (विटुमिन) लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ्न नसक्दा सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गतका अधिकांश कालोपत्र आयोजनाको कार्य रोकिएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा मुसेपानी खोला पुल र दोदा–देखतभुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्रसम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब ७० प्रतिशत आयोजना ठप्प अवस्थामा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए।

मुख्य राजमार्ग र रणनीतिक सडकको काम रोकियो

Advertisement

अत्तरिया–सहजपुर सडकखण्डको ३१ दशमलव शून्य छ किलोमिटर आवधिक मर्मत कार्य अहिले पूर्ण रूपमा बन्द छ। यस्तै, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका नौ वटा सडक योजनाको कालोपत्र निर्माण कार्य पनि अघि बढ्न सकेको छैन।

गड्डाचौकी–चिसापानी सडकखण्डमा नियमित पटके मर्मत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। राष्ट्रिय राजमार्गअन्तर्गत चाँदनी–भीमदत्त–ब्रह्मदेव–पञ्चेश्वर–झुलाघाट (एनएच–६७), चिसापानी–गड्डाचौकी सडकखण्ड (एनएच–०१) तथा अत्तरिया–सहजपुर–फल्टुँडे सडकखण्ड (एनएच–६६) को निर्माण कार्यसमेत प्रभावित भएको छ।

पुँजीगत खर्च र कानुनी जटिलताको चुनौती

आर्थिक वर्ष समाप्त हुन एक महिना पनि बाँकी नरहँदा पुँजीगत खर्च न्यून रहेको छ। योजनाहरू समयमै सम्पन्न नहुँदा विकास बजेट खर्च हुन नसक्ने र त्यसले स्थानीय अर्थतन्त्रमा प्रतिकुल असर पर्ने सूचना अधिकारी जोशीले बताए।

ठेक्का सम्झौता गर्दा मूल्यवृद्धि समायोजनसम्बन्धी प्रावधान नराखिएकाले निर्माण व्यवसायीलाई अतिरिक्त भुक्तानी दिन कानुनी समस्या देखिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नभए जरिवाना तिराउने र त्यसपछि पनि काम नभए ठेक्का सम्झौता अन्त्य गरी कानुनी कारबाही अघि बढाइने उनले बताए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री