
काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र न्यायाधीशको दस्तखत किर्ते गरी नक्कली सूचना बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने २६ वर्षका विवस अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । अधिकारीले अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी नक्कली सूचना बनाएको प्रहरीले जनाएको छ ।
बैंकको रकम हत्याउन सरकारी कागजात किर्ते
अधिकारीले मुद्दाको अन्तिम निर्णय भएपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रुपैयाँ रकमान्तरण हुने विवरण बनाई किर्ते गरेको पाइएको छ । सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले अधिकारीले विसं २०८२ चैत १५ गते यस्तो कागजात बनाएको जानकारी दिए ।
उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत समेत तयार पारेका थिए । अदालतबाट १ लाख ६ हजार रुपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी कागजात तयार पारिएको प्रहरीले जनाएको छ ।
कोठाबाटै बरामद भए किर्ते प्रमाण
यसरी कागजात तयार पार्न काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत किर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ । अदालतका कर्मचारीको निवेदनका आधारमा सीआईबीले उनलाई काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको सहप्रवक्ता खड्काले मंगलबार बताए ।
अनुसन्धानको क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा किर्ते कागजपत्रहरू फेला परेका थिए । काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अधिकारीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया