
झापाको बिर्तामोडमा पुरानो रिसिइबीका कारण एक युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका-२ चारपानेस्थित राजगढ जाने बाटोमा २१ वर्षीया युवतीमाथि स्थानीय केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।
शुक्रबार साँझ साढे ६ बजेतिर घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय, अनारमनीको टोली तत्काल खटिएको थियो । प्रहरी टोलीले पीडित युवतीको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।
पक्राउ पर्नेहरूमा झापाकै कनकाई नगरपालिका-८ का १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेत छन् । उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको मोबिलको बट्टा र विभिन्न १६ वटा पम्पलेट पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित युवतीको अहिले बिर्तासिटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका चारै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।










प्रतिक्रिया