
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमअन्तर्गत करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
आर्थिक गतिविधिमा देखिएको सुस्तताका बाबजुद नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाले सो सहायता उपलब्ध गराइएको आइएमएफले जनाएको छ ।
आइएमएफको कार्यकारी बोर्डले शुक्रबार सम्पन्न बैठकपछि नेपालले आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको विवरण सार्वजनिक गरेको छ । नेपालले मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार र ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालले वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन र सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना सुदृढ बनाएको आइएमएफले जनाएको छ । कानुनी सुधार गर्ने तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएको उसले बताएको छ ।
आइएमएफले चालु आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धि तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो ।
यो थप सहायतासँगै नेपालले प्राप्त गर्ने कुल सहायता करिब ३८४ दशमलव १ मिलियन अमेरिकी डलर पुगेको छ । आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि लागू गरेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रम सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ ।
नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर कोटाको १८० प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो ।










प्रतिक्रिया