उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता, दुईपक्षीय हितबारे महत्त्वपूर्ण छलफल

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबिच आज गृह मन्त्रालयमा शिष्‍टाचार भेटघाट सम्पन्न भएको छ। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधै सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभयो।

Advertisement

राजनीतिक परिवर्तनपछि आफुहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ-समन्वयको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। खासगरी उर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उहाँले बताउनुभयो।

प्रतिउत्तरमा राजदुत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफुहरूलाई खुशी लागेको र भर्खरै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउने तर्फ सहकार्य भैरहेको बताउनुभयो। व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुईदेशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदुत भोल्कले बताउनुभयो। त्यसका लागि यही अक्टोबर महिनामा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने जानकारी उहाँले दिनुभयो।

अष्ट्रेलियामा ठूलो संख्यामा नेपालीहरू रहेको र अष्ट्रेलियाले नेपालीहरूको आतिथ्यता एवम् शान्ति सुरक्षाको ख्याल गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले विशेष धन्यवाद दिनुभयो। राजदुत भोल्कले भने नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटा समेत तय गरिएको बताउनुभयो। साथै नेपाल घुम्न आउने वा सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्ने क्रममा अष्ट्रेलियन पर्यटकलाई नेपाल सरकारले प्रदान गरेको सुरक्षा, समन्वय र सहयोगको लागि राजदुतले धन्यवाद दिनुभयो।

राजदुत भोल्कले दिवंगत भएका पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानून र निर्देशिकासँग संगत हुनेगरी सहयोगको अपेक्षा गरेको बताउनुभयो। जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले केही अप्ठेरो परेको भए आफुले सम्बन्धित निकायसँग बुझेर समन्वय गर्ने बताउनुभयो।

Advertisement

आफू नेपालस्थित विदेशी नियोगहरूको शरणार्थी सहायता समूहको सह-अध्यक्ष रहेको जानकारी दिंदै राजदुत भोल्कले
नेपालले भुटानी शरणार्थीहरूलाई प्रदान गरेको सहायता र सदासयताको प्रशंसा गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री