
उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताका बिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेका रङ्गशालामा दक्षिण अफ्रिका र आयोजक मेक्सिकोबिचको खेलसँगै ४८ टोली सहभागी फिफा विश्वकपको सुरुआत भएको छ ।
अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा सुरु भएको यो प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो ।
करिब ६ सातासम्म चल्ने यो प्रतियोगिताबाट १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिए पनि टिकट मूल्य अत्यधिक भएको भन्दै तीव्र आलोचना भइरहेको छ ।
केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको विषयमा स्पष्टीकरण दिँदै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ६० डलरसम्मका सस्तो टिकट पनि उपलब्ध रहेको र औसत मूल्य ५ सय डलरभन्दा कम रहेकाले यो सुलभ नै भएको दाबी गरे ।
भिसा विवादमा परेका सोमाली रेफ्री ओमार आर्टनलाई आतङ्कवादी सङ्गठनका व्यक्तिहरूसँग सम्पर्क रहेको आरोपमा अमेरिकाले प्रवेश नदिएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ ।
इन्फान्टिनोले इरान र अमेरिकाबिच सैन्य तनाव जारी रहे पनि राजनीतिक अवरोधलाई पन्छाएर इरानले विश्वकप खेल्न पाउनु फिफाको उपलब्धि भएको बताए ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन बिना यो आयोजना कठिन हुने भन्दै ट्रम्प पनि केही खेल हेर्न आउने योजनामा रहेको जानकारी दिए ।
मैदानतर्फ ८५ हजार दर्शक क्षमताको रङ्गशालामा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ भने बिहीबारकै दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबिच गुआडालाजारामा हुनेछ । यस पटक स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ भने वर्तमान च्याम्पियन अर्जेन्टिना लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिँदै छ ।










प्रतिक्रिया