
अमेरिकी हमलाको जवाफ भन्दै इरानले बिहीबार स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ ।
तेहरानले चेतावनी दिँदै यो जलमार्ग पार गर्न खोज्ने जुनसुकै जहाजलाई पनि निशाना बनाइने बताएको छ ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेकाले यो कदम चालिएको उल्लेख छ ।
फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने यो मुख्य मार्ग बन्द भएपछि आपूर्ति ठप्प हुने र मूल्य आकाशिने अनुमान गरिएको छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुने यो साँघुरो जलमार्गमा साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता देशहरू निर्भर छन् ।
इरानको यो कदमले ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १ सय ५० देखि २ सय अमेरिकी डलरसम्म पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसले विश्वव्यापी मुद्रास्फीति र आर्थिक मन्दी निम्त्याउने जोखिम बढाएको छ भने भारत, चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । अन्तर्राष्ट्रिय बजारमा हुने यो मूल्य वृद्धिको प्रत्यक्ष बाछिटा नेपालमा पनि पर्ने र भारतबाट आयात हुने पेट्रोल, डिजेल तथा ग्यासको मूल्य बढेर ढुवानी, उद्योग र कृषिमा थप चाप पर्ने देखिन्छ ।








प्रतिक्रिया