
फिफा विश्वकपमा सहभागी हुने खेलाडी, खेल पदाधिकारी तथा दर्शकहरूलाई भिसासम्बन्धी समस्या र प्रवेश अस्वीकृतिका घटनाहरू बढेका छन् ।
अमेरिकी सरकारको कडा आप्रवासन नीतिका कारण विश्वकप नै प्रभावित हुन थालेपछि आप्रवासन तथा मानवअधिकार विज्ञहरूले यसको कडा आलोचना गरेका हुन् ।
विश्वकपका खेलहरूमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका ३४ वर्षीय सोमाली रेफ्री ओमर अब्दुल कादिर आर्तनलाई वैध भिसा हुँदाहुँदै मियामी विमानस्थलबाट इस्तानबुल फिर्ता पठाइएको छ । अमेरिकी गृह सुरक्षा विभागले सुरक्षा परीक्षणसम्बन्धी चिन्ता देखाउँदै उनलाई अयोग्य ठहर्याएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।
यसैगरी इरान र इजरायलबिच जारी युद्धको बहानामा इरानको राष्ट्रिय फुटबल टोलीलाई पहिलो खेल हुनुभन्दा १० दिनअघि मात्र भिसा दिइएको छ भने टोलीका केही व्यवस्थापकीय सदस्यलाई प्रवेश अनुमति नै दिइएन । सुरक्षा कडाइका कारण इरानी टोलीले मेक्सिकोमा आधार शिविर बनाएर खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।
इराकका फरवार्ड अयमेन हुसेनलाई शिकागो विमानस्थलमा सात घण्टा नियन्त्रणमा राखेर फोन जाँच गरिएपछि मात्र प्रवेश दिइयो भने टोलीका फोटोग्राफर तलाल सलाहलाई प्रवेश अस्वीकृत गरियो । हाइटीका खेलाडी वुडेन्स्की पिएरले ढिलो गरी भिसा पाउँदा मैत्रीपूर्ण खेल गुमाए भने स्विस फरवार्ड ब्रिल एम्बोलो पुरानो कानुनी मुद्दाका कारण सुरुमा टोलीसँग जान पाएनन् । मोरक्को र स्कटल्यान्डका हजारौँ समर्थकहरूले टिकट र होटल बुक गरिसकेपछि पनि भिसा वा ट्राभल डकुमेन्ट अस्वीकृत वा रद्द गरिएको गुनासो गरेका छन् ।
संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी उच्चायुक्त भोल्कर टुर्कले अमेरिकी आप्रवासन नीतिमा व्यापक पुनर्विचार आवश्यक रहेको बताएका छन् । यता फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने फिफा खेलकुद संस्था मात्र भएकाले सरकार वा प्रहरीको निर्णय उल्टाउन नसक्ने भन्दै आलोचनाको प्रतिवाद गरेका छन् ।










प्रतिक्रिया