
सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम कम गर्न र भावी पुस्ताको संरक्षण गर्ने उद्देश्यले आइतबार विश्वभर चेतनामूलक कार्यक्रमका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा यो दिवसको सुरुआत गरेका थिए।
सुरुआतमा सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाइएको थियो। त्यसपछि पारित अर्को प्रस्तावअनुसार हरेक वर्ष मे ३१ मा यो दिवस मनाउन थालिएको हो।
८० लाखभन्दा बढीको मृत्यु
हाल विश्वभर करिब ८ सय ८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्याङ्क छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।
यसमध्ये करिब १२ लाख जनाको मृत्यु भने निष्क्रिय धूमपानका कारण हुने गरेको पाइएको छ। विश्वका पाँचमध्ये एक वयस्क अझै पनि सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेका छन्।
युवा पुस्तामाझ ई–सिगरेटको जोखिम
डब्ल्युएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ४ करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्।
अहिले युवा पुस्तामाझ विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग निरन्तर बढिरहेको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने गरेको अनुमान छ।
व्यापारिक रणनीति र फितलो नियमन
सुर्ती कम्पनीहरूले किशोर र युवालाई अम्मली बनाउन स्वादयुक्त ई–सिगरेट र निकोटिन पाउचजस्ता आकर्षक उत्पादन ल्याएका छन्। डब्ल्युएचओका निर्देशक डा. एटिएन क्रुगले ठूला कम्पनीहरूले व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई फसाउन खोजेको बताए।
सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत आकर्षक प्याकेजिङ र मिठाईजस्ता स्वाद भएका यस्ता उत्पादनको व्यापक प्रचार भइरहेको छ। विश्वका करिब १ सय ६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी नियमनको व्यवस्था छैन।
प्रतिबन्ध र नियमनको आवश्यकता
निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले मस्तिष्क विकासको चरणमा रहेका बालबालिकाका लागि यो गम्भीर हुन सक्छ। डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन र विज्ञापन रोक्न आग्रह गरेको छ।
सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न पनि आग्रह गरिएको छ। सुर्ती नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ।










प्रतिक्रिया