शनिबार, ८ वैशाख २०८१

विप्लवको बन्द : बम डिष्पोज गर्दा सैनिक जवानको औला चुँडियो,हेर्नुहोस् कहाँ-के भए ?

समयपोष्ट २०७६ वैशाख ५ गते १०:३५

Advertisement

आज ‘विप्लब समुह’ले बन्दको घोषणा गरेको छ। काठमाडौँ उपत्यका बाहेक देशका विभिन्न स्थानमा बन्दको प्रभाव परेको छ । विभिन्न स्थानमा विष्फोटक पदार्थ फेला परेका छन् भने केही स्थानमा सवारी साधनमा आगजनीको प्रयास समेत भएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेको खबर छ । मकवानपुरको भीमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनी ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ।

थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागीबाट दुई वटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

पाल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालय परिसरको सेवाग्राही बस्ने प्रतिक्षलयमा पनि बिहान बम बिस्फोट भएको छ । विष्फोटबाट गाउँपालिकाको कार्यालय भवनमा र प्रतिक्षालयमा क्षति पुगेको छ ।

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विप्लव समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पनि बम फेला परेको छ । बिहान ८ बजेतिरको समयमा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ । उक्त स्थानमा सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ ।

उता पोखरामा भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन्। पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा एक नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका हुन। नेपाली सेना कै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् । पोखराको फिस्टेल अस्पतालमा उपचार गराइरहेका उनलाई काठमाडौँ ल्याउने तयारी हुँदैछ ।

त्यस्तै महेन्द्रराजमार्गमा एक भारतीय ट्रकमा अज्ञात समुहले आगजनी गरेको छ । कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री