नेप्से परिसूचक ५.१७ अंकले घट्यो, ५ अर्ब नाघ्यो कारोबार रकम

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५.१७ अंकले ओरालो लागेर २५६६.१६ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स १.५६ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले घटेको छ।
नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा बुधबार ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ।
बुधबार खानी खोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, मानुषी लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत र हिमालयन पावर पार्टनरको साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावरले २३ करोड ६५ लाख रुपैयाँको कारोबार गर्दै पहिलो स्थान हात पारेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड नाघेको छ भने बुटवल पावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.१५ प्रतिशत र व्यापार उपसमूह २ प्रतिशतले उकालो लागेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले ओरालो लागेको छ।




























प्रतिक्रिया