आइतबार, २३ वैशाख २०८१

पाल्पामा क्षयरोगका बिरामी बढ्दै

समयपोष्ट २०७५ चैत १७ गते १५:५३


सुशीला रेग्मी
पाल्पा जिल्लामा क्षयरोगीका बिरामी बढ्दै गएको पाइएको छ । चालू आर्थिक वर्षको छ महीनाको अवधिमा मात्रै १२० क्षयरोगीका बिरामी फेला परेका छन् ।

Advertisement

साउनबाट पुस मसान्तसम्ममा फोक्सोको नयाँ पोजेटिभ, फोक्सोको नेगेटिभ र अन्य भागमा गरी १२० क्षयरोगी नयाँ भेटिएको छ । फोक्सोको नयाँ पोजेटिभ ६३ मध्ये महिला १७, पुरुष ४६, फोक्सोको नेगेटिभ १२ जनामा छ/छ जना पुरुष र महिला छन् भने अन्य भागमा १७ महिला र २८ पुरुष गरी जम्मा ४५ जना नयाँ क्षयरोगीका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार चार महिला र १५ पुरुष गरी १९ जना दोरोहिएका बिरामी रहेका छन् । गत आर्थिक वर्षमा २९४ क्षयरोगीका बिरामी फेला परेकामध्ये फोक्सोको पोजेटिभ १८४ मध्ये ५७ महिला र १२७ पुरुष छन् ।

फोक्सोको नेगेटिभ ४६ मध्ये नौ महिला र ३७ पुरुष, फोक्सोबाहेक अन्य भागमा ५८ महिला र ६६ पुरुष गरी १२४ जना क्षयरोगीका बिरामी फेला परेका थिए । महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी रहेको पाइएको छ ।

धूम्रपान, मध्यपानको सेवन, खानपान र सरसफाइमा ध्यान नदिँदा क्षयरोगको सङ्क्रमण हुन्छ । यस रोगको स्वास्थ्य संस्थामा निःशुल्क उपचार तथा औषधि पाइन्छ । छ महिनासम्म निरन्तर औषधि सेवन गरेमा रोग पूरै निको हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Advertisement

क्षयरोग दोहोरिएका बिरामीको हकमा भने आठ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने रोग भए पनि नियमित उपचार गरेमा पूर्णरूपमा निको भइन्छ ।

कीटाणुबाट लाग्ने रोग भएकाले धूम्रपान, मध्यपान नगर्नेलाई पनि रोग लाग्ने हुँदा सजग भएर हिँड्न, धूम्रपान, मध्यपान नगर्न, खानपान र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको अनुरोध छ ।

वर्ष दिनभन्दा बढी समय सुक्खा खोकी लाग्नु, साँझपख ज्वरो आउनु, शरीरको तौल घट्नु, खाना रुचि नहुनु, खकारमा रगत देखापर्नुजस्ता क्षयरोगका लक्षण हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री