आइतबार, ६ जेठ २०८१

हवाई यात्राले छोटिँदै नेपाल जापान दूरी

सिबी अधिकारी २०८१ वैशाख २३ गते २१:०८

Advertisement

“मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हाम्रो जापानीहरुको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधत्व हुने अपूर्व मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ”, आज मध्यान्ह काठमाडौँ ओर्लनु भएकी जापानका विदेशमन्त्री खामिखावा योकोले आफ्नो लेखमा भन्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका विदेशमन्त्री योकोले नेपाल आउनुपूर्व राससमा प्रकाशित लेखमा ‘मेरो पहिलो नेपाल भ्रमण’ शीर्षकको लेखले साँच्चिकै नेपाल र जापानबीचको लामो समबन्धलाई भावनात्मक बनाउछ । भौगोलिक रुपमा टाढा रहे पनि नेपाल र जापानबीच नजिकको सम्बन्ध छ । नेपालबाट जापानमा सिधा हवाई उडानले दुई देशबीचको दूरीलाई नजिक बनाएको हो । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानमा नियमित उडान गरेर जापानसँग नजिकको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

“आज हाम्रा दुई मुलुक सात घण्टाको सिधा हवाई उडानबाट जोडिएका छन्”, जापानी विदेशमन्त्री योकोले भन्नुभएको छ, “हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार छ । जुन जापानमा बस्ने विदेशीहरुको छैटौँ ठूलो सङ्ख्या हो । जापानमा नेपालीको सक्रियताका कारण दुई देशबीचको सम्बन्ध निरन्तर रुपमा प्रगाढ भएकोमा म हर्षित छु ।”

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपाल एयरलाइन्सले जापानमा सिधा हवाई उडान गरेर नजिकको सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताउनुभयो । “नेपालीहरु जापानमा रोजगार तथा अध्ययनका लागि जाने गरेका छन् । जापानी नागरिक पनि विभिन्न प्रयोजनका लागि नेपाल आउने गर्छन्”, उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान नियमित रुपमा गरिरहेको छ, त्यो भनेको नेपाल र जापानको सम्बन्धलाई प्राथमिकता दिएको हो । हामी भौतिक रुपमा टाढा भए पनि हवाई सम्पर्क सञ्जालले दुई देशबीचको दूरी कम भएको र सम्बन्ध नयाँ उचाइमा पु¥याएको छ ।”

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउनुभएको हो । जापानको विदेशमन्त्री नियुक्त हुनुभएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । नेपालबाट जापान पाँच हजार एक सय छ किलोमिटर दुरीमा पर्छ ।

पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिनिध बढ्दो छ । जापानमा नेपालीले आठ हजार बढी रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका छन् । त्यहाँ खुलेका विभिन्न स्कुलमा नेपाली भाषा अध्ययन हुने गरेको छ । सगरमाथासँग जापानको विशेष सम्बन्ध छ । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

जापान नेपालको प्रमुख विकास साझेदार मुलुक हो । विभिन्न पेसा, व्यवसाय, रोजगारी र अध्ययनका लागि उल्लेख्य सङ्ख्यामा नेपाली जापान गएका छन् । बाक्लो सङ्ख्यामा जापानी नागरिक विभिन्न सन्दर्भमा नेपाल आउने गरेका छन् । नेपाल र जापानबीच कूटनीतिकसम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो । नेपालले हालसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्यसम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक सामाजिक विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

नेपाल र जापानबीचको हवाई सम्बन्ध

नेपाल र जापानबीच दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । त्यसको २५ वर्षपछि सन् २०१८ मा हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको थियो । हवाई सम्झौतासँगै दुई मुलुकबीच सातामा १४ वटासम्म उडान गर्न पाउछन् । त्यसअघि सातामा दुई वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान सुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

नेपाल एयरलाइन्सले विस २०७६ भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो । त्यसको सात महिनापछि अर्थात विस २०७६ फागुन १९ गतेदेखि जापानको नारितामा साताको तीन दिन सिधा उडान प्रारम्भ भयो । निगमको वाईडबडी एयरबस ३३० जहाजमार्फत जापानमा उडान जारी छ । नारिता विमानस्थल राजधानी टोकियो नजिक पर्छ ।

जापानी पर्यटक बढ्ने अपेक्षा

नेपालबाट जापानको राजधानी टोकियो सिधा उडान भइरहेकाले पर्यटक आवागमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालबाट जापानमा हवाई उडान सङ्ख्या बढाएको खण्डमा आगामी दिनमा उल्लेख्य सङ्ख्यामा जापानी नागरिक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । अध्ययन र रोजगारीको सिलसिलामा रहेका नेपालीको नेपाल आगमन सहज हुने भएकाले दुईतर्फी आवागमन बढ्नका साथै आर्थिक सामाजिक विकासमा योगदान पुग्ने निर्देशक लामिछानेको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सोही वर्ष जापानबाट कूल १६ हजार चार सय ६३ नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा पाँच हजार सात सय १४ जापानी नागरिक नेपाल आएका थिए । सबैभन्दा बढी सन् २०१९ मा सबैभन्दा बढी ३० हजार पाँच सय ३५ जापानी नागरिकले नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०१८ मा २९ हजार आज सय १७ र सन् २०१७ मा २७ हजार तीन सय २६ जापानी नेपाल भ्रमणमा आएका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री